पत्रकारितामा दुई दशक बिताएकी सहनशीला अन्नपूर्ण नारायण मन्दिरमा पहिलो महिला पुजारी!

+
-

गुठी संस्थानले असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारीका रुपमा सहनशीला शर्मा झालाई एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि बिहिबार नियुक्त गर्‍यो। पहिलो पटक महिला पूजारीको रुपमा नियुक्त भएपछि सहनशीलाले पनि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै स्टाटस लेखिन्- जसमा पक्ष र विपक्षमा धेरैले बहश गरे। कतिले उनलाई सकारात्मक प्रतिक्रिया दिए त कतिले महिलाले पुजारी हुन नपाउने भन्दै कटाक्ष गरे।

देशसञ्चारसँगको कुराकानीमा उनले भनिन्, ‘मैले त पुरुष मात्र पुजारी हुनुपर्छ भन्ने पितृसत्तात्मक परम्परालाई तोडेर छोरीले पनि गर्न सक्छन् भनेर खुशी बाँड्न खोजेको थिएँ। तर सामाजिक सञ्जालमा उल्टो सन्देश गयो। पेशागत र व्यक्तिगत कुराहरु छुट्याउन सक्ने मान्छेहरु फेला परेनन्।’

सहनशीलाका अनुसार उक्त पुजा उनको परिवारले गर्ने चलन उनीहरुको पुर्खा देखि नै चलिआएको हो। उनीहरुले मन्दिरमै बसेर दैनिक पूजा भने गर्ने होइन। उनी थप्छिन्, ‘अन्नपुर्ण मन्दिरमा निजी पुजारीहरु अरु नै हुनुहुन्छ। यो गुठीको नाम चाहिँ अन्नपूर्ण नारायण गुठी हो। वार्षिक रुपमा त्यो गुठी अन्तर्गत पर्ने तीन वटा पूजाहरु हामी गछौँ।’

कृष्ण जन्माष्टमीको दिन, दशैँको एकादशीको दिन र दशैँको नवमीको दिनमा गरी वर्षमा तीन पटक पूजा गरिन्छ।

सहनशीलाले कृष्णजन्माष्टमीका दिन मन्दिरका कृष्ण भगवानलाई घरमा ल्याई नुवाईधुवाई र सिँगारपटार गर्दिसकेपछि पूजाका लागि तयार गर्नुपर्छ। कृष्ण भगवानलाई विशेष चढाइने घ्यू, चाकु लगाायत सबै सामान लिएर उनी मन्दिर पुग्छिन्। सहनशीलाको परिवारले पूजा गरिसकेपछि अरु स्थानीयले पूजा गर्छन। यस पूजा विशेषगरी रातमा हुन्छ।

उनले गर्नुपर्ने अर्को पूजा भनेको कुमारीको हो। दशैँको एकादशीको दिन गरिने यस पूजामा असनका पाँच कुमारी केटीलाई कुमारी बनाएर पूजा गरिन्छ। यस्तै दशैँको नवमीको दिनमा पनि दशैँमा जसरी पूजा गरिन्छ, त्यही विधि अनुसार नै पूजा गर्नुपर्ने बताउँछिन् सहनशीला।

पहिला उक्त तीनवटै पूजा उनका बुवाले गर्थे। उनका बुवा हुद्धराज शर्माको निधन भएपछि केही वर्ष उनका भाइ प्रमोद शर्माले उक्त कार्य सम्हाले। तर उनका भाइ अध्ययनका क्रममा अहिले विदेशमा छन्। भाइले समय दिन नसकेपछि उनी र उनकी आमाले पूजा गर्दै आएका छन्।

कोभिडका कारण यसपटक उनका भाइ नेपाल आउन नपाएपछि भाइको सल्लाह अनुसार नै उनले भाइको साटो पूजारीमा आफ्नो नियुक्ति होस् भनेर निवेदन दिइन्। पूजारीका रुपमा उनले गर्ने पर्वपूजावापत खर्च पाउने गरी गुठीले उनलाई बिहीबार नियुक्त गरेतापनि उनले सजिलै पाएको सफलता भने होइन यो।

निवेदन पेश गरिसकेपछि त्यसक्रममा उनले धेरै दुख खेप्नु परेको छ। उनले थपिन्, ‘गुठीले अहिलेसम्म महिलालाई नियुक्ति गर्ने चलन नै छैन भनेको थियो।’ त्यसपछि उनले उक्त काम सधैँ आफूले गरेको भन्दै अहिले अफिसियल बनाउन मात्र खोजेको बताइन्।

त्यसपश्चात गुठीसंस्थानको आज्ञा अनुसार उनले निवेदन वडाको सिफारिस, भाइले दिएको पर्मिसन लेटर लगायत अन्य कागजात सबै बुझाइन। र बिहिीबार गुठीले नामसारी गरिदिएपछि सहनशीला औपचारिक रुपमा  पूजारी बनेकी हुन्।

पत्रकारिता क्षेत्रमा दुई दशक विताएकी सहनशीला महिलाले यस पूजा गर्न हुँदैन भन्ने नभएको बताउँछिन्। ‘महिला पुजारी भयो भने मन्दिरको सरसफाइदेखि लिएर सबै कुरा राम्रै हुन्छ’, उनी थप्छिन्।

साथै उनी आफ्नो यस कार्यले अरु महिलालाई पनि आफ्नो अधिकार पाउनका लागि लड्न प्रेरित बनाउने बताउँछिन्। सहनशीलाका अनुसार अन्नपूर्ण मन्दिर भनेको अन्नको भण्डार हो। उनी भन्छिन्, ‘अन्नपूर्ण मन्दिरमा पूजा गरे तपाईको घरमा अन्न खालि हुँदैन भन्ने विश्वास रहेको हुन्छ। अन्नपुर्णको भक्तहरुलाई दुई छाक खान समस्या हुँदैन भन्ने चलन पनि छ।’

अन्नपूर्ण मन्दिरमा ‘पात्रो भर्ने’नामक एक विशेष पूजा पनि हुन्छ। उक्त पूजा गर्नका लागि पहिला पूजारीसँग पात्रो भर्ने पूजामा के–के गर्नुपर्छ सबै बुझेर सामान किन्नुपर्छ र समय लिएपछि पूजा गर्न सकिन्छ। यो पूजा जसले गर्दा पनि हुने सहनशीला बताउँछिन्।

उक्त पुजा गरिसकेपछि प्रसादको रुपमा मन्दिरमा पुजारीले दिएको चामल आफ्नो घरको ढुकुटीमा राखेको खण्डमा ढुकुटी रित्तो हुँदैन र घरमा ‘लक्षिन’ हुन्छ भन्ने विश्वास रहिआएको छ। ललितपुरस्थित कुपनडोलमा सहनशीलाले आफ्नै मिडिया हाउस पनि खोलेकी छन्। त्यहाँ उनले पत्रकारिताको तालिम दिन्छिन्।

भिडियो पनि हेर्नुहोस्:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?