
नेपाल सरकारले हालै नेपालमा पनि कोरोना संक्रमण विरुद्धको खोप अर्थात् भ्याक्सिन लगाउने काम सुरु गरेको छ। नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (WHO)को भ्याक्सिन अभियान अर्थात् COVAX अन्तर्गत भारतमा निर्मित कोभिशिल्ड नामक खोप लगाएको हो।
हाल भ्याक्सिनको बारेमा जनमानसमा केही भ्रम तथा अन्योल श्रीजना भएको देखिन्छ । तसर्थ कोरोना भ्याक्सिन सम्बन्धि यहाँ छोटो चर्चा गरिएको छ।
जबदेखि विश्वमा कोरोना संक्रमणले महामारीको रुप लियो तबदेखि विश्वका थुप्रै देशहरु यसको उपचार र खोप अर्थात् भ्याक्सिन पत्ता लगाउन लागिपरेका छन् र हाल भ्याक्सिनको विकास र उत्पादन पनि भइसकेको छ। तर यसरी भ्याक्सिन उत्पादन गरेर विश्वभरि सानाठूला धनीगरिब सबै देशहरुले समानरुपमा भ्याक्सिनको सुबिधा उपभोग गर्न पाओस् भन्ने कुरा सुनिश्चित गर्न WHO का लागि त्यति सजिलो थिएन र छैन।
त्यसको लागि WHOको नेतृत्वमा अन्य नियोग, संस्था तथा धेरै राष्ट्रहरु मिलेर कोरोना विरुद्ध भ्याक्सिनको विकास गर्न सन् २००० को पूर्बार्धमा अभियान चलाई एक परियोजना र कार्यक्रम बनाइयो जसलाई COVAX (कोभ्याक्स) भनिन्छ। कोभ्याक्स WHO लगायत GAVI र CEPIको संयुक्त नेतृत्वमा संचालित एक अभियान र परियोजना हो ।
GAVI सन् २००० मा स्थापित एक अन्तर्राष्ट्रिय संस्था हो जसको उद्द्यश्य हो विश्वका सबै गरिब देशहरुसम्म खोप समानरुपले पुर्याउने । त्यस्तै CEPI (Coalition for Epidemic Preparedness Innovations) कुनै पनि रोगको प्रकोप अथवा प्यान्डेमिकको अवस्थामा प्रकोप नियन्त्रणको तयारीको लागि स्थापित संस्था हो ।
यसरी कोभ्याक्सको स्थापना भएपछि विश्वका जापान, जर्मनी, नर्वे लगायत ७६ धनी देशहरुले यसमा साथ दिने प्रतिबद्धता जाहेर गरिसकेका छन् । तर ती देशहरुमा अमेकिरा भने सामेल छैन । अमेरिकामा नयाँ सरकार चुनिएसँगै उसको WHOप्रतिको नीति पनि परिवर्तन हुने अपेक्षा गरिएको छ । कोभ्याक्सले सन् २०२१को अन्त्यसम्ममा करिब २ अरब कोरोना भ्याक्सिन विश्वभरि वितरण गर्ने लक्ष्य राखेको छ ।
नेपालमा हाल प्रयोग गरिएको कोरोना भ्याक्सिन भारतको पुने स्थित सेरम इन्स्टिच्युट (Serum Insititue) नामक कम्पनिद्वारा उत्पादित कोभिशिल्ड (Covishield) नामक भ्याक्सिन हो । सेरम इन्स्टिच्युट सन् १९६६मा स्थापित भारतकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी हो जसले पोलिओ, डिपिटी , हेपाटाईटिस, क्षयरोग (TB), मिजल्स (दादुरा), मम्प्स (हाँडे), रुबेल्ला आदिको भक्सिन उत्पादन गर्दै आएको छ । यस कम्पनिलाई WHO लगायत अरु थुप्रै संघ संस्थाको मान्यता प्राप्त छ र उसले उत्पादन गरेको भ्याक्सिन विश्वका १७० भन्दा धेरै देशहरुमा बिक्रि वितरण हुने गरेको छ।
हाल कोरोनाको सर्बमहामारी चलिनै रहेको बेला विश्वमा कुनै पनि कम्पनीले खुलारुपमा भ्याक्सिनको बिक्री वितरण गर्ने अनुमति पाइसकेको छैन । त्यस्तै कोभिशिल्ड पनि आपतकालीन अवस्थाको लागि मात्र प्रयोगको अनुमति प्राप्त भ्याक्सिन हो जुन १८ वर्षभन्दा माथिका मानिसको लागि प्रायोग गर्न सकिन्छ । यो भ्याक्सिनको एक डोज ०.५ मिलिको हुन्छ र यो ४ देखि ६ हप्ताको अन्तरमा २ पटक लगाउनु पर्ने हुन्छ । यो भ्याक्सिन देब्रे पाखुराको मंशापेशीमा मसिनो सुइद्वारा लगाइन्छ।
पहिला कुनै औषधि प्रति कडा यलर्जिक रियाक्सन भएको व्यक्ति , उच्च ज्वरो आएको अवस्था , कुनै प्रकारको रक्तश्राब ज्यादा हुने रोग , शरीरको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता (Immunity इम्यूनिटि) कम भएको अवस्था या इम्यूनिटि घटाउने औषधि खाइरहेको अवस्था, गर्भिणी अवस्था , स्तनपान गराइरहेको अवस्था , कोरोनाको अरु नै भ्याक्सिन लगाएको आदि अवस्थाहरुमा यो भ्याक्सिन लगाउन मिल्दैन ।
यदि ४-६ हप्ता भित्र दोस्रो डोज लिन पाइएन भने १२ हप्तासम्ममा दोस्रो डोज लिन मिल्दछ र दोस्रो डोज लिएको करिब ४ हप्ता पछि यसले मानव शरीरमा कोरोनासँग लड्न सक्ने क्षमता, इम्यूनिटि,को विकास गर्दछ ।
कुनै पनि भ्याक्सिनको साइड इफेक्ट प्राय त्यति हुँदैन किन भने भ्याक्सिनको विकास गर्ने क्रममा भ्याक्सिनले काम अत्यधिक गर्ने र यसको नकारात्मक असर (साइड इफेक्ट) अति कम अर्थात् अधिकतम सुरक्षित हुने गरी विकास गरिएको हुन्छ । यदि कामै नगरेता पनि भ्याक्सिन १००% सुरक्षित हुनु पर्दछ भन्ने मान्यताले विभिन्न फेजको परीक्षण पूरा गरिसकेपछि मात्र सर्वसाधारणको लागि उपलब्ध गराइन्छ।
तर भ्याक्सिन लगाईसकेपछि यसले मानव शरीरमा Immunological Reaction गर्दछ जसले गर्दा हाम्रो शरीरमा एन्टीबडी बन्ने क्रम सुरु हुन्छ। यसै क्रममा Immunological Reaction को कारणले हाम्रो शरीरमा सामान्य लक्षण देखा पर्न सक्दछ जसलाई हामी साइड इफेक्टको नाम दिन्छौं । हलुका ज्वरो आउनु , शरीर दुख्नु , टाउको दुख्नु , रुघा लागेको जस्तो हुनु , शरीर चिसो भई हल्का शिरीर कम्पन हुनु , भ्याक्सिन लगाएको पाखुरा दुख्नु आदि प्राय सबैजसोलाई देखिने सामान्य साइड इफेक्ट हुन् जुन केही दिनमै ठीक भएर जान्छ । यसको लागि खासै कुनै उपचारको आवश्यकता हुँदैन र आवश्यक परेमा पारासिटामोल चक्की ६ घण्टाको फरकमा २-३ दिन खान सकिन्छ । पारासिटामोल निकै सुरक्षित औषधि हो र यो खाली पेटमा पनि खान सकिन्छ ।
नेपाल सरकारले कोरोना भ्याक्सिनको पहिलो चरणको कार्यक्रम भर्खर सम्पन्न गरेको छ जुन राम्ररी ब्यबस्थापन गरेको देखिन्छ । WHO को निर्देशनको राम्ररी पालना गरी सुरु देखि अन्त्यसम्म नेपाल सरकारले भ्याक्सिन सर्बसाधारणसम्म पुर्याएको देखिन्छ ।
सबैभन्दा पहिला सरकारले पहिलो चरणको प्राथमिकतामा परेका लक्षित समूह WHOको निर्देशन अनुसार निर्धारण गर्यो जसमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका कर्मचारीहरु, सार्बजनिक सरसफाईका कर्मचारीहरु र कोरोनाका रोगी या शबको ब्यबस्थापनमा प्रत्यक्ष संलग्न हुने कर्मचारीहरु परेका छन् ।
त्यसपछि यी सबै करिब ४ लाखभन्दा धेरैका नाम दर्ता गर्ने काम गरियो जुन अन लाइन माध्यमबाट नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको वेबसाइट गएर गर्ने व्यवस्था गरियो र त्यसको सीमा मिति पनि तोकियो । त्यसरी अनलाइन दर्ता गर्नको लागि ती प्राथमिकतामा परेका व्यक्तिहरु काम गर्ने सघसंस्थालाई आफ्नो कर्मचारी दर्ता गर्न छुट्टा छुट्टै युजर आइडि (User ID) तथा पासवर्ड (Password) को व्यवस्था गरिएको थियो। अनलाइन दर्ता गर्न संस्थाले पठाएको विवरण र आफूले भरेको विवरण सहि हुनु आवश्यक हुन्छ।
यसरी सबैले आफ्नो बारेमा बिस्तृत जानकारी राखेर दर्ता गरिसकेपछि भ्याक्सिन लगाउने दिनमा निर्धारित स्थान र समयमा आफ्नो संस्थाको परिचय पत्रसहित हाजिर हुने व्यवस्था गरिएको थियो। त्यस्तै आफ्नो नाम अन लाइन दर्ता गर्ने बेलामा दर्ता प्रक्रिया सकेपछि आफ्नो विवरण भएको परिचय पत्र निस्कन्छ । भ्याक्सिन लगाउन जाने बेलामा यो परिचय पत्र पनि लिएर जानु पर्ने व्यवस्था गरिएको थियो । भ्याक्सिन लगाउनको लागि देशभरि प्रशस्त खोप केन्द्रहरुको स्थापना गरियो । खोप केन्द्रमा खोप लगाउनुभन्दा पहिला र खोप लगाईसकेपछि गर्नुपर्ने सबै कुराहरुको राम्रो व्यवस्थापन गरियो ।
आफूले कम गर्ने संस्थाको आधारमा निर्धारण गरिएको नजिकैको खोप केन्द्रमा गइसकेपछि सबैभन्दा पहिला प्रत्येक व्यक्ति पहिला दर्ता गरिएकै सहि व्यक्ति हो कि होइन भन्ने कुरा प्रमाणीकरण गरियो । प्रमाणित भएको खण्डमा त्यस पछि भ्याक्सिनको लागि उक्त व्यक्ति ठीक छ कि छैन भन्ने जाँच, ब्लड प्रेसर, अक्सिजन आदिको परिक्षण गरियो । प्रमाणीकरण नभएका व्यक्तिलाई भ्याक्सिन लगाउनबाट बन्चित गरियो चाहे उनी चिकित्सक या अन्य स्वास्थ्यकर्मी नै किन नहोउन् ।
शारीरिक जाँचपछि सबै तरिकाले भ्याक्सिनको लागि योग्य भएपछि उक्त व्यक्तिलाई स्वाश्थ्य मन्त्रालयद्वारा जारि गरिएको खोप कार्ड उपलब्ध गराई खोप लगाउने स्थानमा पठाइयो। चित्र न. १ मा स्वास्थ्य मन्त्रालयबाट दिइने खोप कार्ड देखाइएको छ जुन पहिलो र दोस्रो खोपको लागि प्रयोग गरिन्छ। खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले आवश्यक परामर्शका साथै भ्याक्सिन लगाइसकेपछि आधि घण्टाको लागि निरीक्षण कक्षमा शान्त बस्नको लागि सल्लाह दिइयो।
आधि घण्टाको दौरान स्वास्थ्यकर्मीले फेरि ब्लड प्रेसर, अक्सिजन आदिको जाँच गरी कुनै शारीरिक समस्या नभएमा घर पठाइने व्यवस्था गरिएको थियो। साथै घर गएपछि कुनै स्वास्थ्य समस्या आएमा तुरुन्त सम्पर्क गर्नको लागि सम्पर्क नम्बर पनि दिइयो । त्यति मात्र नभई खोप केन्द्रले भ्याक्सिन लगाइसके पछि हुन सक्ने साइड इफेक्टको बारेमा अध्ययन गर्न अन लाइन मार्फत त्यसको सर्भे गर्ने काम पनि भयो ।
यसरी भ्याक्सिनको काम सुरु देखि अन्त्यसम्म अति ब्यबस्थित तरिकाले भएको पाइयो र यसरी सम्पूर्ण काम गर्दा कुनै लापरबाही, हेल्चाक्राई र अनियमितता हुन सक्ने सम्भावना पनि न्यून देखियो। भ्याक्सिनको पहिलो चरणको काम सफलताका साथ सम्पन्न गरेकोमा नेपाल सरकार, स्वाश्थ्य मन्त्रालय र सम्बन्धित सबै कर्मचारीहरु बधाई तथा धन्यवादका पात्र हुन् ।
सन् २०१९ को अन्त्यतिर जब चीनको हुबे प्रान्तको वुहान सहरमा मानिसहरु स्वासप्रस्वास सम्बन्धि अज्ञात रोगले बिमार हुन थाले र कतिपय मानिस मर्न पनि सुरु गरे, चीन सरकारले २०१९ डिसेम्बर ३१ मा यो कुरा WHOलाई जानकारी गरायो । त्यस पश्चात WHOले २०२० जनुवरी १२ का दिन यो समस्या कोरोना भाइरसको नया प्रजाति (Novel Corona Virus) को संक्रमणको कारणले भएको हो भनी ठहर गर्यो । त्यस्तै जनुवरी ३० का दिन WHOले कोरोना भाइरसको संक्रमण विश्वमै जन स्वास्थ्य आकस्मिक र अन्तर्राष्ट्रिय चासोको विषय (Public Health Emergency of International Concern, PHEIC) भएको घोषणा गर्यो ।
विश्वलाई आतंकित बनाउने क्रममा कोरोना संक्रमणले दक्षिण एसियाको सानो राज्य भुटानलाई पनि छाडेन । यस अंकमा भुटानमा कोरोना प्यान्डेमिकले कस्तो असर गर्यो र भुटानले कसरी यसलाई नियन्त्रण गर्ने प्रयास गर्यो सरसर्ती हेरौं।
कोरोना प्यान्डेमिकको सुरुवातीदेखि हालसम्म भुटानले यसको नियन्त्रणको प्रयास राम्ररी गरेको देखिन्छ। भुटानले कोरोना परिक्षण पनि प्रसस्त गरेको छ । भुटानमा कोरोना संक्रमणको पहिलो केस सन् २०२०को मार्च ६का दिन अमेरिकाबाट आएका एक ७६ वर्षीय पुरुषमा देखिएको थियो । यो भनेको दक्षिण एसियाका अन्य देशमाभन्दा केही पछि हो । उदाहरणको लागि कोरोनाको पहिलो केस नेपालमा जनुवरी २३मा, श्रीलंकामा जनुवरी २७ मा, भारतमा जनुवरी ३०मा, पाकिस्तानमा फेब्रुअरी २६मा, माल्दिभ्समा मार्च ७ मा र बंगलादेशमा मार्च ८मा देखिएको थियो ।
भुटानमा पहिलो केस देखिए पछि संक्रमितको सम्पर्कमा आएका करीब ९० जनालाई क्वारेन्टाइनमा राखिएको थियो। मार्च महिनाको अन्त्यतिर त्यहाँको राजाले अन्तर्राष्ट्रिय सीमा सबै बन्द गर्ने घोषणा गरे। लगत्तै सीमा नजिकै भारतमा बस्दै आएका करीब ५००० आफ्ना नागरिकलाई देश फर्काइयो भने भारतबाट नियमित आयात गरिदै आएको सामानहरुको आयातमा पनि रोक लगाइयो । त्यस्तै क्वारेन्टाइनको समयाबधि पनि १४ दिनबाट बढाएर २१ दिन गरियो।
एप्रिल (April)को सुरुवाती देखिनै कोरोना सम्बन्धि जनचेतना जगाउन घर दैलो कार्यक्रम सुरु गरिएको थियो र २४ बेड र आवश्यक सबै जनशक्ति र उपकरण सहितको बिशेष कोभिड आइसोलेसन अस्पतालको स्थापना पनि गरियो। विदेशमा रहेका अन्य नागरिकलाई पनि देश भित्र्याउने काम पनि एप्रिलको सुरुवातीदेखि नै थालियो । एप्रिलको अन्त्यसम्म जम्मा संक्रमितको संख्या ७ पुगेको थियो ।
त्यसै बेला त्यहाँको सरकारले विश्व बैंकको सहयोगमा प्यान्डेमिक नियन्त्रण सम्बन्धि एक परियोजना पनि सुरु गर्यो। मे महिनाको सुरुवातीसंगै भुटानमा कन्ट्याक्ट ट्रेसिंग गर्न सुरु गरिएको थियो । त्यस समयमा एक जना संकास्पद व्यक्तिको र्यापिड टेस्ट पोजिटिभ आए पछि भुटानको एक दक्षिण पुर्बी सहरमा करीब एक हजार जनालाई घरमा क्वारेन्टाइन गरियो भने ६० जनाको र्यापिड टेस्ट गरियो । पछि त्यस संकास्पद व्यक्तिको कोरोना पीसीआर टेस्ट नेगेटिभ भेटियो।
यसरी मे (May) महिनामा मात्रै जम्मा ३६ जना नया संक्रमित भेटिएको थियो जुन त्योभन्दा पहिलाको महिना भन्दा धेरै थियो । मे महिनाको सुरुवातीसम्म खासै कोरोना संक्रमित नदेखिए पनि त्यस पश्चात भुटानमा संक्रमितहरु फाटफुट देखिन थाले । जुन (Jun) र जुलाई (July)मा नया संक्रमितको संख्या केही घटेतापनि भुटानमा अगष्ट र सेप्टेम्बरमा फेरि संक्रमण दर केही बढी अगष्ट (August) ३१ का दिन एकै दिनमा 29 जना नया संक्रमित भेटिएका थिए।
अक्टोबर (October), नोभेम्बर (November) र डिसेम्बर (December) महिनामा नया संक्रमित फाटफुट देखिने क्रम जारी नै रही दैनिक करीब ५ देखि १५ जना देखिएका थिए। डिसेम्बरको अन्त्य देखि अचानक दैनिक नया संक्रमणमा वृद्धि भई हरेक दिन १५ देखि ३० जना नया संक्रमित भेटिन थाले र यो क्रम जनुवरीको मध्यसम्म जारी रह्यो । जनुवरी ९ का दिन एकै दिन ३९ जना नया संक्रमित भेटिएका थिए जुन भुटानमा हालसम्मकै सबैभन्दा धेरै दैनिक संक्रमण हो भने जनुवरी ७ मा पहिलो पटक कोरोना संम्रमित एक ३४ वर्षीय व्यक्तिको मृत्यू भएको थियो जुन हालसम्मकै एक मात्र कोरोना संक्रमितको मृत्यू हो ।
प्यान्डेमिक नियन्त्रण गर्ने क्रममा भुटानले बेलाबेलामा छोटो छोटो लकडाउन गर्ने, बिदेशी नियोगहरुमा कडाईका साथ निगरनी गर्ने , भारतीय सेना तालिम कार्यक्रममा रोक लगाउने , सीमा नजिकैका गतिबिधिहरुमा कडाई गर्ने आदि गरेको थियो। त्यस्तै संक्रमित देखा परेका ठाउंहरुमा सामूहिक र सामुदायिक परिक्षण (Mass Screening) गर्ने पनि गरेको थियो। भुटानमा दक्षिण सीमा नजिकै अवस्थित फुन्सोलिंग (Phuntsholing) भन्ने सहरमा देशभरिमा सबैभन्दा धेरै संक्रमित भएको देखिन्छ।
अक्टोबरको अन्त्यतिर भुटानले अन्तर्राष्ट्रिय उडान भारत र थाईल्याण्डमा आफ्नो राष्ट्रिय ध्वजाबाहक ड्रुक एअरबाट सुरु गरेको थियो । सायद त्यसैको फलस्वरूप डिसेम्बर र जनुवरीमा संक्रमितको संख्या निकै बढेको देखिन्छ। यसरी भुटानले प्यान्डेमिक नियन्त्रणको लागि कडा अनुशासन लागु मात्रै गरेन WHO को निर्देशन अनुसार प्रसस्त परिक्षण तथा क्वारेन्टाइन जस्ता उपायहरु पनि उत्तम तरिकाले गरेको देखिन्छ ।
भुटानले प्यान्डेमिकका दौरान आफ्नो अर्थतन्त्रको पनि राम्रै ख्याल राखेको देखिन्छ । भारतबाट कृषि जन्य सामग्रीको आयात बन्द भएपछि स्थानीय कृषिलाई भुटानले प्रोत्साहन गरेको छ जसले गर्दा स्थानीय कृषिले राम्रो उन्नति गरेको देखिन्छ । त्यस्तै देशभरि विद्यालय बन्द भएपछि अनलाइन कक्षा सुरु गरी इन्टरनेट सुबिधा नपुगेको ठाउंमा विभिन्न शिक्षा सामग्री पुर्याई शिक्षा संचालन गरेको देखिन्छ । पर्यटनको क्षेत्रमा भने अझै गार्हो देखिन्छ । प्यान्डेमिकको सुरुवातीमै सबै पर्यटकहरुलाई आ-आफ्नो देश फर्काइएको थियो भने हालसम्म पनि नियमित पर्यटकीय गतिबिधि त्यति राम्ररी सुरु भएको देखिँदैन ।
भुटानमा जनुवरी मध्यदेखि हाल नया संक्रमित र सक्रिय संक्रमितमा निकै कमी आएको छ । पछिल्लो अवस्थामा भुटानमा जम्मा संक्रमितको संख्या ८६१ पुगेको छ भने मृत्यू १ मात्र । बिगत २ हप्ताभन्दा धेरै समयदेखि त्यहाँ दैनिक १ जना मात्र नया संक्रमित देखिने गरेको छ भने प्रत्येक दिन करीब ७७८ परिक्षण प्रति एक लाख जनसंख्या अर्थात् दैनिक करीब साढेचार हजार परिक्षण गर्ने गरिएको छ। भुटानको हालको सक्रिय संक्रमण दर करीब २% छ भने पोजिटिभिटी अर्थात् दैनिक संक्रमण दर ०.०१% भन्दा कम छ । यी सबै दरहरु विश्वमै सर्बोत्कृष्ट मध्ये एक हुन् । याद रहोस भुटानको जनसंख्या करिब साढे सात लाख जति मात्रै छ जुन नेपालको चालिस भागको एक भाग जति मात्रै हो ।
सन् २०१९ डिसेम्बर १ का दिन चीनको हुबे प्रान्तको राजधानी सहर वुहानमा पहिलो पटक भेटिएको कोरोना संक्रमणले १४ महिना पार गरिसकेको छ। यस १४ मिहनको दौरान विश्वमा ठूलो हलचल र उथलपुथल भयो। हालसम्म विश्वमा करीब १०५०००००० (साढे दस करोड) मानिस यस संक्रमणको सिकार भइसकेका छन् भने २३००००० (तेईस लाख)भन्दा धेरैले यसैका कारण ज्यान गुमाई सकेका छन्। यसैका कारण विश्वमा करीब ४० करोड मानिसले आफ्नो पूर्णकालिन काम (Fulltime job) गुमाएका छन् भने करीब ४२०० खरब रुपिया (३.५ ट्रिलियन अमेरिकी डलर) बराबरको क्षति विश्वले बेहोरेको छ।
यत्रो ठूलो बिनास र क्षति दिएको कोरोना संक्रमण सधैको लागि रहने भने पक्कै पनि होइन । एक दिन त यसको अन्त्य निश्चित छ। यसै क्रममा बिगत करीब १ महिना देखि विश्वमा यसको जम्मा दैनिक संक्रमण घट्दो क्रममा छ भने यस बिरुद्धको भ्याक्सिनले पनि विश्वभर बिस्तारै ब्यापकता पाउन थालेको छ । तर यसले गर्दा भइरहेको दैनिक मृत्यूमा भने खासै कमी आइसकेको छैन । पछिल्लो समयमा विश्वमा दैनिक चार लाख जातिमा नया संक्रमण देखिने गरेको छ भने दैनिक करीब साढे दस हजार मानिस यसैका कारण मरिरहेका छन् ।
विश्वका विभिन्न भौगोलिक क्षेत्रलाई प्रभाव पर्ने क्रममा दक्षिण एसियामा पनि यसको असर गम्भीर नै रह्यो। तर हाल आएर यस क्षेत्रमा प्यान्डेमिकको असर केही काम हुँदै गएको देखिन्छ । प्राकृतिकरुपले हो या इश्वरको कृपा या साँच्चिकै यस क्षेत्रका मानिसहरुको अथक प्रयास र मेहेनतले आज यस क्षेत्र झन्डै झन्डै कोरोनामुक्त भने जस्तै अवास्थामा पुगेको छ । कोरोनामुक्त भनिहाल्नु अलि हतार गरे जस्तो हुन सक्ला तर कोरोना मुक्तिउन्मुख भन्नुमा सायदै कुनै गल्ति होला। चित्र न. २ मा दक्षिण एसियाका ८ देशहरुका बिगत दुई महिनाभन्दा लामो समयको जम्मा दैनिक संक्रमण देखाइएको छ। चित्रमा देखाइए जस्तै यो प्रबृत्ति निरन्तर ओरालो लाग्ने क्रममा छ।
दुई महिनाभन्दा पहिला प्रत्येक दिन करीब ५०००० (पचास हजार)भन्दा धेरै संक्रमितहरु भेटिन्थे भने हाल त्यो संख्या प्रत्येक दिन करीब २६००० जति छ जुन दुई महिना अगाडिकोभन्दा करीब आधि हो। त्यस्तै चित्र न. ३ मा दक्षिण एसियाको दुई महिनाभन्दा लामो समयको दैनिक कोरोना मृत्यू देखाइएको छ । यस क्षेत्रमा मृत्यू पनि क्रमैसंग घट्दै गएको छ । दुई महिनाभन्दा पहिला दक्षिण एसियामा दैनिक करीब ६०० भन्दा धेरैको कोरोनाका कारण मृत्यू हुन्थ्यो भने हाल यो संख्या करीब १५० (डेढ सय) मा झरेको छ जुन पहिलाकोभन्दा एक चौथाई जति हो ।
यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, जनुवरी ३१ देखि फेब्रुअरी ६ (माघ १८ देखि २४) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।
यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन होप्किन्स विश्व विद्यालय (John Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data) आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो ।
गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उताभचढ़ाभ हुने क्रम जारी रह्यो । निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं ।
दैनिक नयाँ संक्रमण
यो हरेक दिन नेपालमा देखिएका या देखिने नया संक्रमितहरुको संख्या हो। गतहप्ता जनुवरी ३१ देखि फेब्रुअरी ६ (माघ १८ देखि २४) सम्म जम्मा ७ दिनको नेपालभरि र काठमाडौँ उपत्यकाको नया संक्रमितको संख्या चित्र न. ४ मा प्रस्तुत गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा ९५२ जना र काठमाडौँ उपत्यकामा ४७२ जना नया संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा १६७४ र काठमाडौँ उपत्यकामा ८७३ नया संक्रमित भेटिएका थिए।
माथिको तथ्यांकको आधारमा भन्ने हो भने गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि संक्रमितको संख्या निकै घटेको पाइयो जुन करीब ५६% जति हो। बिगत केही महिनादेखि नेपालभरि र काठमाडौँ उपत्यकामा जम्मा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ। त्यस्तै मृत्यू हुनेको संख्या गतहप्ता जम्मा ८ रह्यो भने त्योभन्दा अगाडिको हप्ता ३३ थियो जुन पहिलाको दाँजोमा एक चौथाई जति हो।
त्यस्तै काठमाडौँ र नेपालको अनुपात केलाउने हो भने चित्र न. ५ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नयाँ संक्रमण अनुपात गतहप्ता न्यूनतम ३८.०१% देखि अधिकतम ६६ .६७% सम्म रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो अनुपात ४५.४३% देखि ५८.७२% सम्म रहेको थियो। गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ५१.३८% रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात करीब ५३.०५% थियो।
यसरी देशभरिको दाँजोमा काठमाडौँको नया संक्रमितको अनुपात बिगत केही समय देखि केही तलमाथि भए पनि यो अनुपात लगभग स्थिर देखिन्छ । गतहप्ता सिंगो देशमा जम्मा भेटिएका संक्रमित मध्ये आधाभन्दा केही धेरै काठमाडौँ उपत्यकामा भेटिएका छन्। नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यका पछि कोभिड संक्रमण ज्यादा देखिएका जिल्लाहरुमा चितवन, ईलाम, कैलाली, रुपन्देही आदि पर्दछन्।
यसरी देशैभरि जम्मा दैनिक संक्रमित र जम्मा मृत्यू घट्दै गइरहेको सन्दर्भमा नेपालमा बिगत दुई महिनाको दैनिक संक्रमित र मृत्यूको प्रबृत्ति कस्तो रह्यो चित्र न. ६ मा देखाइएको छ। चित्रमा देखाइए जस्तै दुई महिना अगाडि नेपालको दैनिक संक्रमितको संख्या १२७२ थियो भने हाल यो संख्या १०० को हाराहारीमा पुगेको छ। त्यस्तै दैनिक मृत्यूको संख्या दुई महिना अगाडि १६ थियो भने हाल यो संख्या पनि १-२ मा सीमित रही कहिले कहिँ सुन्ना पनि हुने गरेको छ।
दैनिक संक्रमण पोजिटिभिटी दर (Positivity Rate)
प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भर पर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ । पोजिटिभिटी दरको बारेमा गएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु होला।
नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र न. ७ मा देखाइएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक निरन्तररुपमा केही तल झर्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ३.१७% देखि अधिकतम ५.८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४.०७% रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर ३.०१% र ६.९८% का बीच रही त्यो साताको औसत पोजिटिभिटी दर ५.६७% रहेको थियो।
गतहप्ता देशभरि जम्मा २३४६७ परीक्षण गरियो भने त्योभन्दा अगाडिको हप्ता जम्मा २८८५७ परीक्षण गरिएका थिए। हाल नेपालमा दैनिक औसतमा करीब ३३०० मात्र परिक्षण गरिंदै आएको छ भने गतहप्ता औसतमा करीब ४००० परीक्षण गरिँदै आएको थियो ।
चित्र न. ८ ले नेपाल मा बिगत दुई महिनाको दैनिक परिक्षण र संक्रमण दर (पोजिटिभिटी ) देखाएको छ। दुई महिना अगाडि दैनिक परीक्षण ८००० भन्दा धेरै गर्ने गरिन्थ्यो र त्यस मध्ये १५% भन्दा धेरैमा संक्रमण देखिन्थ्यो अर्थात् संक्रमण दर १५% भन्दा धेरै थियो भने हाल करीब २८०० दैनिक परीक्षण गर्ने गरिएकोमा करीब ३.५% मा संक्रमण देखिने गरेको छ ।
जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार पछिल्लो समयमा संक्रमण दर (पोजिटिभिटी) सबैभन्दा अधिक भएका दस देशहरु निम्नानुसार देखिन्छन्, मेक्सिको ८५.६० %, बोलिभिया ३१.३५ %, इन्डोनेसिया २९.७२ %, मोजाम्बिक २७.६७%, अल्बानिया २५.४८%, एक्वाडोर २५.४४%, मलावी २४.६४%, पोर्चुगल २१.५९%, परागुये २१.५०%, र स्लोभाकिया १९.९२% ।
त्यस्तै दक्षिण एसियाली र अन्य देशहरुको संक्रमण दर निम्नानुसार देखिन्छ, अमेरिका ७.६०%, जापान ५.११%, बेलायत ३.६०%, नेपाल ४.७०% , श्रीलंका ५.९०% , पाकिस्तान ४.०२%, अफ्घानिस्तान ३.३%, बंगलादेश ३.३१%, माल्दिभ्स ३.९६%, भरात १.७०% र भुटान अति न्यून। भुटानमा हल दैनिक करीब ४५०० परिक्षण गर्ने गरिएको छ भने त्यस मध्ये दैनिक १ जना मात्र नया संक्रमित भेटिने गरेको छ।
त्यस्तै अफगानिस्तानमा दैनिक करिब १७०० मात्रै परिक्षण गर्ने गरिएकोमा त्यस मध्ये करिब ६५ जनामा नयाँ संक्रमण देखिने गरेको छ । दक्षिण एसियामा भुटान सबैभन्दा प्यान्डेमिक राम्ररी नियन्त्रण गरेको देशमा गनिन्छ भने त्यसकोविपरित अफगानिस्तान प्यान्डेमिक नियन्त्रणमा सबैभन्दा कम्जोर देखिन्छ ।
माथिका तथ्यांकहरुबाट के देखिन्छ भने पछिल्लो समयमा दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था नियन्त्रितका साथै स्थिर देखिएको छ भने नेपालको प्यान्डेमिक अवस्था पनि गत करीब ४ महिनादेखि क्रमिकरुपमा घट्दै आएको छ। यो निकै खुशीको कुरा हो । करीब ५ महिनापछि दक्षिण एसियामा संक्रमण दर नेपालकोभन्दा अन्य देशको धेरै देखिएको छ। पछिल्लो समयमा दक्षिण एसियामा श्रीलंकामा संक्रमण दर बढ्दो छ भने नेपाल र पाकिस्तानको झन्डै बराबर छ। WHO को मापदण्ड अनुसार संक्रमण दर ५% भन्दा काम कम्तिमा दुई हप्ताभन्दा धेरै समय टिके भने प्यान्डेमिक नियन्त्रण भएको मानिन्छ र प्यान्डेमिक नियनत्रणका लागि लागु गरिएका निषेधित कुराहरु फुक्का गर्न सकिन्छ । तर हाल नेपालमा प्यान्डेमिक नियन्त्रणका कुनै पनि निषेधित कुराहरु बाँकि छ जस्तो लाग्दैन ।
समग्रमा गतहप्ताको आंकडा हेर्दा नेपालमा प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या दुई हप्ता अगाडिको साताको जम्मा झन्डै आधा मात्र देखिएको छ। तर कोभिड संक्रमित घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु पनि हो । परीक्षण कम गर्दा प्यान्डेमिक लुकेर बस्ने सम्भावना भने पक्कै पनि हुन्छ । प्रयाप्त परीक्षण गर्दागर्दै दैनिक नयाँ संक्रमित र नया मृत्यू घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ। त्यसको ज्वलन्त उदाहरण भुटान हो ।
यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २७१८०६ जना मानिसलाई कोरोना संक्रमण भइसकेको छ जसमा समग्रमा करीब ३५% महिला र ६५% पुरुष छन्। पछिल्लो समयमा करीब ४२% संक्रमित महिला छन् भने ५८% पुरुष । त्यस्तै २०३५ जनाले यसै संक्रमणका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्। त्यस अर्थमा नेपालको हालसम्मको समग्र कोरोना मृत्यूदर (Cumulative death rate) करीब ०.८% छ, हालसम्म जम्मा संक्रमितमध्ये १.८% संक्रमित बाँकि छन् र ९८.२% संक्रमितहरु संक्रमण मुक्त भइसकेका छन् । हालसम्म नेपालमा २०९११६६ जनाको PCR परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १३% जति देखिएको छ।
जे होस्, दक्षिण एसियाका अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारी छ। त्यसै अनुरुप जनजीवन पनि सामान्य बन्दै गएको अवस्था छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्न सकिँदैन। त्यसैले हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु अपनाउनु पर्ने देखिन्छ ।