
सिमकोट – भाडाको घरमा बस्दै आएको दोजाम प्रहरी चौकी भवन बनाउन प्रहरी आफै कस्सिएकाे छ। चौकीमा भएका प्रहरीलाई गस्ती गर्ने पालो लगाएर बाँकी रहेका प्रहरीहरु भवन बनाउन व्यस्त छन्।
सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम प्रहरी चौकीको तीन कोठे भवन बनाउन चौकीमा कार्यरत प्रहरी लागिपरेको निर्माण कार्यमा संलग्न प्रहरी जवान नरबहादुर कुमाईले जानकारी दिए।
१५ जना प्रहरी उक्त भवन बनाउने कार्यमा खटिएका छन् । प्रहरीले भवनको जग खन्ने, गाह्रो लगाउने, काठको काम गर्ने, ढुङ्गा सार्ने लगायतका सबै काम जनश्रमदानबाट हुँदै आएको उनले बताए।
भवन निर्माणमा खटिएका प्रहरीले गस्ती गर्ने र पालो पहरा भने गर्नु पर्दैन। निर्माण कार्य प्रहरी सहायक निरीक्षकको नेतृत्वमा हुँदै आएको छ। चौकी भवन बनाउनका लागि वडा तथा गाउँपालिकामा पहल गर्दा कतै सुनुवाई नभए पछि आफ्नै जवानद्वारा घर बनाउन सुरु गरिएको प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए।
भएकै जनशक्तिको व्यवस्थापन गरेर भवन निर्माण कार्य हुँदै आएको छ। हप्तामा एक पटक उनी आफै पनि काम हेर्न तथा काम गर्ने जवानलाई हौसला प्रदान गर्न पुग्ने गर्दै आएका छन्। शनिबार जिल्लाबाट थप जनशक्ति पठाएर कामलाई सघाउने कार्य भइरहेको छ।
भवनको अधिकांश काम प्रहरीद्वारा जनश्रमदानमा हुँदै आएको भए पनि काठ चिर्ने, जस्तापाता, किला काँटी भने हुम्लाका स्थानीय समाजसेवी, निर्माण व्यवसायी, व्यापारीबाट व्यक्तिगत रुपमा नौ लाख रुपैयाँ सहयोग प्राप्त हुने आस्वाशन प्राप्त भएको उनले बताए।
जसबाट सामग्री खरिद तथा संकलन गर्ने कार्य सुरु समेत भइसकेको छ । भवन आगामी चैत्र महिनाभित्र सम्पन्न गर्ने योजना रहेको छ । दोजाम प्रहरी बैजिबाडा गाउँमा भाडाको घरमा हाल बस्दै आएको छ।