
उठती पुठती लुकाए दाम कता कता
डुबे सबै दल–दलमा काम कता कता।।
हेर्न आए हेलिकप्टर ज्याला पानी वाला
साँझ परि घर जाँदा माम कता कता।।
नयाँ आयो रोजगारी बाटा–घाटा ढाक्ने
यता उता सडकमा जाम कता कता।।
खुमलटार बालुवाटार देउसी भैलो खेल्दा
जिउमा बस्यो डण्डाको डाम कता कता।।
खुला कतै देख्न हुन्न टुँडिखेल नै चिलिम
बदम खाँदै भाषण सुन्ने ठाम कता कता।।
ओखती किन्न टोपी थापे रकम नपुगेर
बाहिरकाले पठाएका खाम कता कता।।
ग्रह दशा उल्टो परि बित्याँस हुने भयो
राहु केतु पन्छाइ दिने राम कता कता।।
अर्को भाइ आए साथमा खुल्यो नेत्र अब
लेखिन्छ कि किताबमा नाम कता कता।।
कता फर्की पूजा गर्दा भलो होला कुन्नी
उत्तर हो कि दक्षिण हो धाम कता कता।।