
काठमाडौँ– निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्नेभए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ। आयोगले दुबै दल साविककै अवस्थामा रहेको निर्णय गरेको हो।
मंगलबार बसेको आयोगको बैठकले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर बनेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज भएको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराउने पनि निर्णय गरेको छ।
आयोगले भनेको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७७–११–२३ को फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भए राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुबै दलले आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने गरी सो निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिह्नसमेत प्रस्ताव गरी १५ (पन्ध्र)दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत–माक्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जानकारी गराउने।’
यस्तै आयोगले एमाले र माओवादी केन्द्र साविककै अवस्थामा रहेकोले सोही नाममा दर्ता माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती र एमालेका अध्यक्ष सन्ध्या तिवारीलाई पनि १५ दिनभित्र नयाँ नाम प्रस्ताव गरी आउन भनेको छ।