
जनकपुरधाम– आज महाशिवरात्री पर्व धुमधामको साथ मनाइँदै छ। बिहानैदेखि जनकपुरधामका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। यसको लागि पहिलादेखि नै तयारी गरिएको थियो।
तर जनकपुरधाममै रहेको सबैभन्दा पुरानो शिव मन्दिर भने आफ्नो अस्तित्व खोज्दै छ। अन्य शिव मन्दिरमा श्रद्धालु भक्तजनहरुको भीड भएपनि जनकपुरधामको गिरनारी कुट्टीमा रहेको पौराणिक शिव मन्दिर सुनसान छ।
अन्य मन्दिरहरु पूजाका लागि सजाइए पनि सो शिव मन्दिरमा कुनै तयारी गरिएको छैन। यद्यपि सो मन्दिरमा आक्कलझुक्कल श्रद्धालुहरु दर्शनका लागि पुग्ने गर्छन्।
टिकमगढको गिरनारका वैद्य राम गिरीले सो मन्दिरको स्थापना गरेकाले सो कुट्टीको नाम गिरनारी कुट्टी राखिएको स्थानीयहरु बताउँछन्। उनी टिकमगढका राजाको कुल पुरोहितसमेत थिए।
राम मन्दिर तथा जानकी मन्दिरभन्दा पनि पुरानो रहेको सो मन्दिरमा २ वटा शिवलिङ्ग छन्। एउटा शिवलिङ्ग कालो रंगको छ भने अर्को सेतो रंगको। धार्मिक जानकारहरुका अनुसार शिवलिङ्ग कालो रंगको धेरैतिर पाइन्छ तर सेतो रंगको शिवलिङ्ग हुनु अदभूत संयोग नै हो। यी दुबै प्राचिन शिवलिङ्ग नर्मदा नदीबाट ल्याइएको बताइन्छ। कालो शिवलिङ्गको नाम महाकालेश्वर राखिएको छ भने, सेतोको नाम गौरी शंकर राखिएको छ।
स्थानीय प्रदीप शर्माका अनुसार सन् १७३४ मा गिरनारका वैद्य राम गिरी भगवान रामको ससुराली खोज्दै जनकपुरधाम पुगेका थिए। उनी भगवान् शिवका परम भक्त थिए। राजर्षी जनक पनि भगवान् शिवको परम भक्त रहेकाले उनले जनकपुरधाममा शिवलिङ्ग स्थापना गरे।
कुनै समय श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गरेको सो मन्दिरका महन्थको वि.सं. २०२९ सालमा हत्या भएपछि १२ वर्षसम्म मन्दिरमा पूजाआजासमेत बन्द रहेको थियो।
तत्कालिन महन्थ रवि गिरी र उनका चेला वीर गिरीको हत्या भएको थियो। उनीहरुको हत्यापछि बन्द रहेको सो मन्दिर स्थानीयहरुको सक्रियतापछि फेरि खोलियो। तर त्यो मन्दिरका लागि पुरानो दिन फर्केर आएन।
गिरनारी कुट्टी गुठी अधिनस्थ रहेको छ। तर गुठी संस्थानको उदासिनताका कारण यो मन्दिरमा रौनकता आउन सकेको छैन। अहिले सो मन्दिरका महन्थ शिवु गिरी रहेका छन्।
उनका अनुसार गुठी संस्थानले पूजाका लागि ११ सय र महन्थलाई ११ सय रुपैयाँ मासिक तलब उपलब्ध गराउँदै आइरहेको छ। त्यसबाहेक गुठी संस्थानले सो मन्दिरमा केही सहयोग गरेको छैन। मन्दिर जिर्ण अवस्थामा रहेपनि त्यसको जिर्णोद्धारका लागि कुनै निकायले पहल नगरेपछि सो मन्दिरले आफ्नो अस्तित्व खोजिरहेको छ।