
सिमकोट –काठमाडौँबाट ढुवानी भएर आएको विष्फोटक पदार्थ सुर्खेतमै रोकिएपछि हुम्लामा निर्माणाधीन कर्णाली करिडोरको काम रोकिएको छ।
सुर्खेतबाट हवाई मार्ग हुँदै उक्त विष्फोटक पदार्थ ढुवानी गर्नुपर्ने भए पनि हेलिकप्टरको व्यवस्था नहुँदा काममा बाधा पुगेको हो।
विष्फोटक पदार्थ नहुँदा कर्णाली करिडोर अन्तर्गत चारवटा योजनाको निर्माण कार्य रोकिएको छ।
कडा चट्टानी भाग विष्फोट गर्न जिलेटिन काठमाडौँबाट सुर्खेत आई पुगेको भए पनि त्यताबाट नेपाली सेनाको हेलिकप्टर व्यवस्था हुन नसक्दा काम प्रभावित भएको नर्माण कम्पनी सपना धुलीखेल जेभीका स्थानीय प्रतिनिधि छिरिङ लामाले बताए। सिमकोट-हिल्सा खण्ड अन्तर्गतको सिमकोटबाट च्याछरासम्मको काम रोकिएको उनले बताए।
हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुन्दास लामाले पनि चारवटा योजनाको काम विष्फोटक पदार्थकै अभावले रोकिएको बताए।
कर्णाली करिडोर अन्तर्गत विष्फोटक पदार्थको अभावमा काम रोकिएका योजनाहरुमा च्याछरा, सिमकोट हेक्पाखोला, बोक्चे गौडा र दुल्ली कुनाका सडक योजना रहेका छन् ।
गएकाे फागुन १२ गते आयोजनाले सेनाबाट तीन हजार केजी विष्फोटक पदार्थ काठमाडौँबाट सुर्खेतसम्म स्थल मार्गबाट ढुवानी गरेर ल्याएको छ।
निर्माण कम्पनीहरुले हेलिकोप्टरको भाडावाफतको रकम सेनालाई बुझाइसकेको बताएका छन्।