
काठमाडाैँ – कतार प्रहरी वा त्यहाँ अरु सुरक्षा निकायमा नेपाली युवाको भर्ती (भर्ना) सम्बन्धी कुनै पनि औपचारिक सम्झौता वा सहमति नभएको परराष्ट्र र श्रम मन्त्रालयले स्पष्ट पारेको छ।
सन् २०२२ मा हुने विश्वकप फुटबललाई लक्षित गरेर कतारले आफ्नो प्रहरी बलमा नेपाली युवाहरुलाई भर्ना गरिरहेको खबर सार्वजनिक भएका बेला परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले त्यस सम्बन्धमा छलफल भए पनि कुनै सहमति नभएको जनाएको हो।
कतारमै अन्य काम वा प्रयोजनाका लागि गएका नेपाली युवा तथा नेपालबाट पनि युवाहरुलाई प्रहरीमा भर्ति गर्न लागिएको खबर आएको छ।
हालै द डिप्लोम्याटमा प्रकाशित भएको खबर अनुसार कतारले बिना सहमति झण्डै १२ हजार नेपाली युवाहरुलाई प्रहरीमा भर्ति गर्ने प्रक्रिया सुरु गरेको उल्लेख छ।
तर परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले कतारसँग यस सम्बन्धमा कुनै सहमति नभएको बताइन्। परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘दोहा स्थित नेपाली दूतावासमा कतारका तर्फबाट प्रहरीमा नेपाली युवाको भर्तिलाई लिएर माग पत्र पेश भएको हो। त्यसबारे प्रारम्भिक छलफल भए पनि कुनै निर्णय वा सहमति भएको छैन।’
उनका अनुसार माग पत्र (डिमाण्ड लेटर) पेश भए पनि कतार प्रहरीमा भर्तिको प्रक्रिया र सेवा–सुविधा तथा सुरक्षालाई लिएर नेपालको ‘रिजर्भेशन’ छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतमणि पाण्डेले पनि कतार प्रहरीमा नेपाली युवाको रोजगारी अर्थात भर्तिलाई लिएर अहिलेसम्म कुनै सहमति वा सम्झौता नभएको बताएका छन्।
प्रवक्ता पाण्डेले भने, ‘दोहास्थित दूतावासमा पेश भएको माग पत्रबारे परराष्ट्र मन्त्रालय हुँदै जानकारी आएको थियो। त्यसमा आन्तरिक छलफल भएको हो। तर अहिलेसम्म कुनै सम्झौता भएको छैन। कतार प्रहरीमा नेपालको भर्ति वैध रुपमा हुने अवस्था छैन।’
आफूहरुको जानकारीमा पछिल्लो पटक नेपाली युवाहरु कतार प्रहरीमा गएको जानकारी नरहेको उनले दाबी गरे। उनले भने, ‘सरकारी तहबाट सम्झौता भएर नेपाली युवाहरु कतार प्रहरीमा गएको पाईँदैन। अवैध रुपमा भर्ति गरिएको वा त्यसरी गएको पाइए आवश्यक कारवाही प्रक्रिया थाल्ने छौँ।’
वैदेशिक रोजगार विभागले पनि नेपालीहरु वैध रुपमा कतार प्रहरीमा भर्ति हुने अवस्था नरहेको बताउँछ। विभागका महानिर्देशक कुमारप्रसाद दहालले अहिलेसम्म नेपालबाट कुनै पनि व्यक्ति कतार प्रहरी वा त्यहाँको सुरक्षा निकायका लागि औपचारिक रुपमा नगएको बताए।
विभागका महानिर्देशक दहालले भने, ‘कतार प्रहरीमा नेपाली युवाको भर्ति कानूनी होइन । दूतावस माफर्त डिमाण्ड लेटर आएको हो, त्यसमा छलफल भइरहेको छ । अहिलेसम्म नेपालले कतार प्रहरीमा नेपाली युवालाई भर्ति गर्ने विषयमा स्वीकृत दिएको वा डिमाण्ड लेटर (माग पत्र) लाई अनुमोदन गरेको छैन।’
उनले अघि भने, ‘अन्य प्रयोजन वा अर्कै कामका लागि गएका नेपाली युवाहरुलाई प्रहरीमा भर्ति गरिएको भए त्यो हाम्रो जानकारीमा छैन। त्यसो भएको भए पनि अवैध हो।’
सिंगापुर, मलेसिया र भारतमा नेपाली युवाहरु प्रहरीसहितका सुरक्षा निकायमा भर्ति गर्न पाउने बारे नेपालले सम्बन्धित देशसँग सम्झौता गरेको छ। तर कतारसँग त्यस्तो सम्झौता भएको छैन।
कतारमा आउँदो २०२२ मा विश्वकप फुटबल हुँदैछ। त्यसका लागि भइरहेका निर्माण कार्यमा संलग्न विदेशी कामदारहरुको सुरक्षा तथा सेवा–सुविधा तथा मावनअधिकारको अवस्था नाजुक रहेको भन्दै आलोचना हुने गरेको छ।