
सिमकोट-लामो समयको कारोना कहरपछि पठन पाठन सुरु भएको विद्यालयमा विद्यार्थीहरु खुला चौरमा अध्ययन गर्न बाध्य हुदै आएका छन्।
गतवर्ष बर्खामा बाढी आएर विद्यालयको भवन भत्किएपछि कक्षा कोठाको अभावमा विद्यार्थीहरु चौरमा अध्ययन गर्न बाध्य भएका हुन्।
ताँजाकोट गाउँपालिका वडा नम्बर २ को छप्रेलाको धर्मोदय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा बिष्णुदेबी शर्माका अनुसार कोरोनाको त्रासपछि विद्यालयमा पठन पाठन सुरु हुँदा कक्षा कोठा नहुँदा दैनिक रुपमा चौरमा अध्ययन गर्नु परिरहेको छ। चर्को घाम लागेका बेला अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवै पक्षलाई कठिन हुने उनले बताइन्।
बर्खाको पहिरो पछि धेरै विद्यालयका धेरै भवनमा क्षति पुगेको कारण विद्यार्थीले चौरमा अध्ययन गर्नु बाध्यता रहेको बताउँदै अविभावकले सरोकारवाला निकायलाई अनुरोध गरेपछि सुनुवाइ हुन नसकेको गुनासो गरेका छन्।
यसरी सधै कक्षा बाहिर अध्ययन गर्दा विद्यार्थीलाई शारिरीक र मानसिक रुपमा समस्या आउन सक्ने देखिएको छ। कम्तीमा पनि यो शैक्षिक सत्र विद्यार्थीहरुले यसरी नै पढ्नु पर्ने निश्चित भएको छ।
विद्यालयमा प्रधानाध्यापक गंगादत्त जैशीका अनुसार खुला चौरमा पठन पाठन सुरु गर्नु विद्यालयको बाध्यता रहेको छ। विद्यालयको एउटा भवन बाहेक अन्य सबै भवनमा बाढीले क्षेती पुर्याएपछि विद्यार्थी र शिक्षकलाई चौरमा पठन पाठन गर्नुको अन्य बिकल्प नभएको प्रअ जैशीले जानकारी दिए।
गतभदौ महिनामा बाढीले विद्यालय भवनलाई क्षेती पुर्याएपछि त्यसको निर्माण कार्य हुन नसम्दा विद्यार्थी चौरमा पढ्नु परि रहेको हो। पानी परेका दिनमा पठन पाठन बन्द गर्नु परेको बताउदै प्रअ जैशीले चौरमा अध्ययन गर्ने विद्यार्थीहरुमा कक्षा छ, सात ११ र १२ रहेका छन्।
कक्षा आठ, नौ र दशका विद्यार्थीहरु भने क्षेती पुगेकै भवनमा जेनतेन अध्ययन गर्दै आएका छन्। त्यस्ता कक्षा कोठामा अध्ययन गर्न असजिलो लागेपछि विद्यालय बाध्य भएर पठन पाठन हुन गरेको छ।
विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा भवन निर्माणका लागि प्रदेश र संघीय सरकारबाट बजेटको ब्यबस्था भएपनि स्थान छनौट हुन नसकेको कारण निर्माण कार्य अगाडी बढ्न सकेको छैन।