
काठमाडौँ – नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचार जारी रहेको नर्भिक अस्पतालले जनाएको छ ।
विभिन्न सञ्चारमाध्यममा उनको निधनको भ्रामक खबर प्रकाशित भएका बेला अस्पतालले बुधबार बिहान विज्ञप्ति निकालेर गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको जानकारी दिएको हो ।
५७ वर्षका उनी गएको फागुन १४ गते मष्तिकघात भएपछि नर्भिक अस्पतालमा उपचाररत छन् । पछिल्लो केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको छ ।
अस्पतालले विज्ञप्तिमा भनेको छ, ‘यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।’
‘फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ।’