
काठमाडौँ – नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेकी छन्।
आफूहरुले गुटको भेला नभई नेकपा एमालेको राष्ट्रिय भेला आयोजना गरेकोले पार्टी अध्यक्षका हैसियतले सहभागी हुन उनले ओलीलाई आग्रह गरेकी हुन्।
‘यो भेलामा आउनेलाई कारबाही गर्ने रे। महासचिवले पनि वक्तव्य निकाल्नु भो। यो गुटको भेला होइन। यो पार्टी भेला हो। यहाँ आउन कोही डराउनु पर्दैन। ढुक्क भएर बस्नुहोस्। एमालेलाई बलियो बनाउने हो। एकीकृत बनाउने हो। अहिले पनि समय छ,ओली पनि आउनुहोस्’, उनले भनिन्।
नेतृ शाक्यले २८ गतेको निर्णय फिर्ता लिन ओलीलाई आग्रह गरिन्।
‘२८ गतेको निर्णय पार्टीको विधान विपरित छ। ओलीले गरेको यो निर्णय स्वीकार सकिन्न।ओलीले पार्टी एकता भग गर्दैछन् । ओली सच्निन सकेनन् । उनले नेतालाई अपमान गरे। यो बीचमा पीडा छ। अब पनि एमाले बचाउन सकिन्छ भनेर भेला गरेको हो’, शाक्यले भनिन्, ‘ओलीले बालुवाटारलाई गुटको घर बनाए।’