
सिमकोट – उत्तरी छिमेकी चीनतर्फको सीमा स्तम्भको स्थलगत रुपमा अध्ययन हुने भएको छ। दार्चुला, बझाङ, हुम्ला, मुगु र डोल्पा जिल्लामा पर्ने चीनतर्फका सीमा स्तम्भहरुको अध्ययन हुने भएको हो।
नेपाल सरकारका सहसचिव स्तरीय टोलीले चीनसँगका सीमा स्तम्भहरुको अनुगमन तथा अध्ययन गर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । टोलीले अनुगमन गर्ने सीमा स्तम्भमा दार्चुला जिल्लाको सीमा स्तम्भ १, बझाङको २, हुम्लाको ३ र १२ , मुगुको १३ र डोल्पा जिल्लाको १४ र १५ नम्बर रहेका छन्।
टोलीले आगामी २०७८ साल जेठ १८ गते देखि असार १ गतेसम्म सबै जिल्लामा रहेका सीमास्तम्भको स्थलगत रुपमा अनुगमन गर्ने तय भएको छ।
चीनले हुम्ला खण्डको लाप्चामा पर्ने १२ नम्बर सीमा स्तम्भलाई एकतर्फी रुपमा मर्मत गरेको भन्दै कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका थिए।
उनको टोलीले हुम्ला खण्डमा पर्ने नेपाल र चीनका सीमा स्तम्भको स्थलगत रुपमा अनुगमन गरेर प्रतिवेदन नेपाल सरकारलाई पेश गरेका थिए।