
च्वाम्म चपाइ गयो साल फेरि
खाइ पचाइ गयो साल फेरि।।
बाजा सडकका अर्थ न बर्थ
डम्फु बजाइ गयो साल फेरि।।
यतै रोजगारी भाषणमा बोल्दै
विदेश धपाइ गयो साल फेरि।।
जुक्ति अनौठो नयाँ यूग थाल्न
पोष्टर टँसाइ गयो साल फेरि।।
झुप्रा बस्ति चुहिँदै बसे कति
महल सजाइ गयो साल फेरि।।
लडिएला छिर्के कसैले हाले
ढोड समाइ गयो साल फेरि।।
मङ्गलको कामना गरे बडाले
उनैलाई हँसाइ गयो साल फेरि।।
के के न गर्छु भनि गफ हाँक्दै
ढाँटी छकाइ गयो साल फेरि।।