
यतिबेला,
शब्दका तीरले थिल्थिलिएको छु,
आफैले ताँदो हालेर फालेका शब्दहरूका ।
उतिबेला,
शब्दहरू वर्षन्थे,
तिनमा तागत हुन्थ्यो
गाण्डीवको अक्षय ठोक्रो जस्तै
मेरा शब्द-वाँणहरू
लक्ष्यभेद गरिसकेपछि
फेरि मेरै ठोक्रोमा फर्कन्थे,
ती रित्तिँदैनथे-
मसँगै मेरो साथमा
त्यतिबेला हनुमान थिए, कृष्ण थिए,
त्यसैले म अर्जुन थिएँ ।
अहिले कोही देखिन्नन् वरिपरि,
छाडेर गइसकेछन्-
सबैले छाडिसकेपछि
आज मलाई
महाभारतमै नभएको
नितान्त एक्लो कसले बनायो अर्जुन हँ?
…………
उतिबेला,
मन्त्रले अभिमन्त्रित भएर
चलेका थिए शायद
मेरा शब्दका वाँणहरू
विजय धनुबाट
र,
तिनले घायल बनाएका थिए बैरीहरूलाई ।
जे थिएँ, शक्तिशाली थिएँ ।
समयसँगै,
मेरा मिथ्याहरू नटिक्दा-
आफ्नै बोलीविरूद्ध,
समय परशुराम बनेर श्राप दिइसकेपछि
सारथि शैल्य भएर पनि केही नलाग्दो रहेछ!
यतिबेला,
फसेको छु यतैकतै-
मसँगै फसेको छ शक्तिको रथ ,
विजय धनु रथमै राखेर
भ्रान्तिको खाडलबाट
नियतिका पाङ्ग्राहरू उचाल्दैछु,
परशुराम श्रापित महाभारतको जस्तै
म एक विस्मृत सेनापति-कर्ण,
सबै बिर्सिएको छु यतिबेला,
यति नै बेला,
ममाथि कसले चलायो गाण्डीव हँ?