
जनकपुरधाम– जानकी नवमीको अवसरमा जानकी मन्दिरमा सवा १ किलोको सूनको भेटी चढाइएको छ। जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले १ किलो र श्रद्धालु निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन्।
सीताको जन्मको स्मरणमा प्रत्येक वर्ष जानकी मन्दिरमा धुमधामको साथ जानकी नवमी मनाइने गरिन्छ। यस वर्ष कोरोनाको दोस्रो लहरको कारण धनुषामा निषेधाज्ञा लगाइएकाले जानकी नवमी प्रभावित भएको छ।
कोरोनाका कारण अहिले जानकी मन्दिरको मुख्यद्वार बन्द गरिएको छ। यसवर्ष मन्दिरका पुजारी तथा केही धर्मानुरागीको उपस्थितिमा जानकी नवमी मनाइएको हो।
कोरोनाको त्रास तथा नेपालको विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले आज घरघरमा दियो बाली आरती गर्न महन्थ दासले आग्रह गरेका छन्। गत वर्षसमेत कोरोनाको कारण जानकी नवमी प्रभावित भएको थियो भने मन्दिरमा केक चढाएको भन्दै कडा आलोचनासमेत भएको थियो।