नेपालमा बाह्य निर्देशित परिवर्तन

नेपालमा बाह्य निर्देशित परिवर्तन
+
-

प्रेम, करुणा, दया जस्ता मानिसका स्वस्फूर्त स्वभाविक गुण हुन्। एउटा हत्यारा पनि आफन्तको मृत्युमा भावविह्वल हुन्छ। करुणा, प्रेम कसै द्वारा रोप्नु पर्दैन। यो स्वत: मानिसको जन्मसँगै आउँछ। यो अन्तर्मूखी हुन्छ।

कम्प्युटरमा राखिएको एन्टिभाइरस जस्तै प्रेम, करुणा, दया, सद्भाव, भाइचारा जस्ता मानिसका अभिन्न गुणहरु पनि सामाजिक कुरीति, कुसंस्कार, कुविचार उत्पन्न हुन नदिने एन्टिभाइरस हुन्। अर्थात समाजलाई सकारात्मक दिशातिर उन्मुख गराउने मानवीय गुणहरु हुन्, जसले सुख, शान्ति, सदभाव, र भाइचारासहितको उन्नत र सभ्य समाज निर्माण गर्दछ।

डर, ध्वंस, इर्ष्या, भ्रष्ट आचार बाहिरी अर्थात समयसँगै विकसित हुँदै जाने मानवीय गुणहरु हुन्। यी बाहिरी जलप मात्र हुन्। यी भाव र चरित्र बिस्तारै विकसित हुन्छन्। यी गुणहरु अग्रजहरुवाट बिस्तारै नियोजित ढंगबाट प्रसारित र पुस्तान्तरण हुँदै जाने गर्दछ। यसका लागि समाज, यसका अभियन्ताहरुद्वारा स्थापित मूल्य, मान्यता, जीवनशैली र दृष्टिकोण जिम्मेवार हुन्छन्।

आशा यस्तो भावना हो जसले मानिसलाई जुनसुकै विकट अवस्थामा पनि धैर्य हुन सघाउँछ। संसारमा नयाँ नयाँ सिर्जना र खोज कार्यको निरन्तरता आशाकै कारण सम्भव भएको हो। मंगल ग्रह वा चन्द्रमा वा अन्य शौर्यमण्डलमा जीवन लगायत अन्य सम्भावनाको खोजको निरन्तरता यसैको उपज हो। विकटतम अवस्था पनि भोलिको दिन सुगम हुने आशाकै कारण मानिस मृत्यु शैयामा रहँदा पनि जीवनको सम्भावना देख्दछ। आशाले मानिसलाई सदा सकारात्मक हुन सिकाउँछ, यो जीवन बाँच्ने कलाको मूल आधार हो।

डर मानिसको जीवनको अभिन्न अङ्ग हो। डरले सकारात्मक बाटो तिर हिँड्न पनि सहयोग गर्छ। लोकलाजको डर, कानुन नियम अनुसार हुन सक्ने दण्ड सजायको डर, आफ्नो क्रियाकलापका कारण अरुलाई हुने असजिलोको डर, हातहतियारको प्रयोगबाट हुन सक्ने मानवीय क्षतिको डर, कडा परिश्रम नगर्दा परीक्षामा अनुत्तिर्ण हुने डर लगायतका विभिन्न डरले समाजमा स्थिरता, शान्ति, सद्भाव, समृध्दि र सामाजिक सन्तुलन स्थापना गर्न मद्दत पु-याउँछ।  डरले स्व-नियन्त्रण, अनुशासन र जनकल्याणलाई सुगम बनाउँछ।

जन्मे पछिका दिनमा अग्रज, समाज, बाह्य वातावरणसँगै बिस्तारै विकसित हुँदै जाने यीनै जीवनका मूल्य मान्यता अर्थात विश्वाश सदा सर्वोपरी रहि आएको छ। यसका लागि जस्तो सुकै मूल्य चुकाउन तत्पर रहन्छ, मानिस। यसैले समाजलाई उन्नत बनाएको छ र कतिपय अवस्थामा जीवनको यहि मूल्य मान्यताको रक्षार्थ उसले विभिन्न युद्द लडेको छ। हिंसा सिर्जना गरेको छ। त्यसैले सधैँ नै उसको मूल्य मान्यता र विश्वाश पहिलो प्राथमिकतामा रहँदै आएको छ।

मेरो व्याख्या नै अन्तिम हो र यसलाई इन्कार गर्ने असभ्य र समाज विरोधी हो भन्ने तर्कमा आधारित सामाजिक व्यवस्थाको कल्पना गर्ने अहंकारवादी दृष्टिकोण नै आजको मूल समस्या हो। अर्काको मात्र अवगुण देख्ने दृष्टिदोष नै समस्याको कारण हो। म र मेरोको अस्तित्व अरुको जीवनको मूल्यमा भए पनि यथावत राख्नु पर्छ भन्ने रक्तपिपासु स्वभावका कारण समाज अस्थिर भएको हो। यस्ता विचारको बाहुल्यताका कारण कमजोरलाई उठाउने हातहरु कमजोर हुन गएका छन्। असहिष्णु विचार व्यवहारको गति तीव्र भएको छ। अमेरिकाको मूलबाटोमा प्रहरीको गोलीबाट कालो भएकै कारण ज्यान गुमाउनु परेको घटना होस् वा अमेरिकाको क्यापिटल हिलमा दिउँसै भएको आक्रमण वा नेपालको संसदमा बेलाबखत देखिने रमिता,  भारतका विभिन्न प्रदेशहरुमा धार्मिक असहिष्णुताका कारण भीड-हत्या आदि सबै असहिष्णु मूल्य मान्यताका उपज हुन्।

आत्मवञ्चना वा स्वप्रशंशा वा “मेरो गोरुको बाह्रै टक्का” भन्ने मानसकिताले आफ्नो विचार वा पहिचान वा अस्तित्वलाई मात्र प्रधान बनाउँछ। केबल अन्य मानिस वा समूहप्रति तीव्र रुपमा केन्द्रीत हुँदा आफू स्वयंको अस्तित्वको चेतना नै हराउँछ। प्रत्यक्ष देखिने महसुस गर्न सकिने बस्तु वा विषय पनि वैयक्तिक पूर्वाग्रहका कारण अदृश्य हुन जान्छ। यो आवरणले मानिसलाई सत्यबाट पृथक बनाइदिन्छ। वास्तविकता वा सत्यलाई बस्तुगत रुपमा पहिचान गर्न असफल हुन्छ। फलत: ऊ एकोहोरो विवेकशून्य हुन जान्छ र आफ्नो असफलता वा कमिकमजोरीलाई लुकाउन अरुलाई अनुपयोगी वा अनावश्यक वा असत्य सिध्द गर्न उध्दत रहन्छ। यहि रोगबाट अहिलेको नेपालको राजनीति, राज्यसत्ताको बागडोर सम्हाल्ने र यसका आसेपासेहरु ग्रसित छन्। यी आचरणहरु पतोन्मुख शासक वा सार्वजनिक पदाधिकारीहरुमा देखिने गर्छ। यस्ता आचरणबाट कसैको पनि कल्याण हुँदैन।

अरब स्प्रिङ्ग आन्दोलनका सिलसिलामा इजिप्टमा सैनिक तानाशहको अन्त्य भयो। प्रजातान्त्रिक संविधान निर्माण र मोहम्मद मोर्सी राष्ट्रपतिमा निर्वाचित भए। तर उनले आमजनता र राष्ट्रको विकास गर्ने एजेण्डालाई भन्दा पनि दलीय स्वार्थ र जनताका सार्वभौम अधिकार कुण्ठित गर्ने कठोर उग्रवादी असहिष्णु सोचलाई प्राथमिकता दिँदा छोटो समयमा जनविरोधको सामना गर्नु परेको थियो। यसैलाई आधार मानेर राज्यसत्तामा लामो समय हालीमूली गर्दै आएका सेनालेमोर्सीको सत्ता उल्टाउनुका साथै संविधान पनि भंग गरेको थियो। अमूल्य जीवनको बलिदानपछि प्राप्त प्रजातन्त्र र जनताको स्वतन्त्रतापूर्वक जीवन यापन गर्ने सपनाको अन्त्य भयो, परिवर्तन स्थायी हुन सकेन, मोर्सीको स्वार्थ, अयोग्यता, र कट्टरपनाको कारण।

प्रजातान्त्रिक राज्यव्यवस्था संसारमा रहेका विद्यमान व्यवस्थाहरु मध्ये तुलनात्मक रुपमा उत्तम र सफल छ किनकि यसले धेरै हदसम्म न्याय, समानता र वैयक्तिक स्वतन्त्रताको सुनिश्चितता गर्दछ। जनआन्दोलनबाट विश्वका विभिन्न मुलुकहरुमा निरंकुश तानाशाहहरुको अवसान भएको छ। तर अधिकांश देशहरु गृहयुद्दको लपेटामा परेका छन्। विगतमा बनेका संरचानहरु ध्वस्त भएका छन्। जनता आफ्नै देशमा शरणार्थी हुन पुगेका छन्।

इतिहासमा नभोगेको दु:ख भोग्न बाध्य भएका छन्। प्रश्न उठ्छ अत्युत्तम शासन पध्दतिको स्थापनाको नाममा पश्चिमा शक्तिराष्ट्रको आडमा भएको परिवर्तनबाट शान्ति र विकास किन हुन सकेन? किन यी देशका नागरिकहरु परिवर्तनका लागि सहयोगी पश्चिमा राष्ट्रहरुप्रति सकारात्मक भाव राख्दैनन?  पश्चिमा राष्ट्रहरु र उनीहरुको सहयोगमा स्थापित राज्य व्यवस्थाका विरुद्द युद्दमोर्चामा किन त्यस समाजको उल्लेख्य जनमत जुटेका छन? ब्रदरहुड, अलकयदा, आइएसआईएस जस्ता उग्रवादी संगठनहरुको किन र के कारण उदय भए? शायद बाह्य उक्साहट र सहयोगका कारण परिवर्तन सतही, अस्वभाविक, अप्राकृतिक हुन गयो वा बहुसंख्यक जनतामा परिवर्तनले अप्नोत्व भाव उत्पन्न गर्न सकेन वा राज्यसत्तामा अयोग्य, स्वार्थी, तानाशाह प्रवृत्तिका कुपात्रको बाहुल्यता भयो?

परिवर्तन दुई किसिमका हुन्छन: आमुल र वृध्दिशील। चीन, रुसमा भएका परिवर्तनले तत्कालीन व्यवस्थामा आमुल परिवर्तन गरेर एकतन्त्रीय कम्युनिष्ट तानाशाही राज्यव्यवस्थाको स्थापना ग-यो भने अमेरिका, फ्रान्स, बेलायत, भारत जस्ता देशहरुमा तत्कालीन राजनैतिक सामाजिक व्यवस्थाका स्थापित उपयुक्त, उचित मूल्य मान्यतालाई निरन्तरता दिई वृध्दिशील परिवर्तनलाई राज्यव्यवस्थाको निर्माणको आधारका रुपमा अंगिकार गरे। यी सबै देशको परिवर्तन स्थानीय जनताको स्वस्फूर्त सहभागिता र बलिदानबाट भएका थिए, बाह्य प्रभाव वा हस्तक्षेपको कुनै भूमिका रहेन। त्यति मात्रै होइन राज्यसत्तामा योग्य, नैतिकवान, ईमान्दार, जवाफदेहि र दुरदृष्टि भएका मानिसहरुको जमातको बाहुल्यता रह्यो। वैयक्तिक, दलीय, क्षेत्रीय वा अन्य स्वार्थहरु राज्यसत्ता सञ्चालनमा हाबी हुन सकेनन्।

सबै प्रणाली पूर्ण छैनन र अपरिवर्तनीय पनि हुँदैनन्। बस्तुत:प्रणालीको निरन्तरता यसलाई सञ्चालन गर्ने पात्रको निष्ठा, ईमान्दारिता, दूरदर्शीता र समभावमा निर्भर गर्दछ।

सबै प्रणाली पूर्ण छैनन र अपरिवर्तनीय पनि हुँदैनन्। बस्तुत:प्रणालीको निरन्तरता यसलाई सञ्चालन गर्ने पात्रको निष्ठा, ईमान्दारिता, दूरदर्शीता र समभावमा निर्भर गर्दछ। स्रोत साधन र जनशक्तिको अभावका साथ ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको सिंगापुरलाई केही दशकमा लि क्वान ह्यूले एक समृद्द राष्ट्रका रुपमा स्थापना गर्ने ऐतिहासिक काम गरे। तत्कालीन खमेर रुजको कहालीलाग्दो नरसंहार र कुशासनबाट ग्रसित क्याम्बोडिया तथा अमेरिकी सेनाको विरुद्दकाे एक दशक भन्दा लामो लडाइबाट छियाछिया भएको भियतनाम आज द्रुत गतिमा विकास गर्न सफल भएका छन्। यी प्रतिनिधि उदाहरण मात्र हुन्, यस्ता धेरै छन्। यी देशहरुको परिवर्तनमा जनताको सहभागिता रह्यो र नेतृत्व आफ्ना वाचाहरुप्रति ईमान्दार रहे तथा जनताको भावना र आवश्यकतालाई प्रतिनिधित्व गरे। साथै विदेशी पात्रको स्वार्थपूर्ति गरिदिनु पर्ने बोझबाट पनि यी नेतृत्वहरु स्वतन्त्र रहे।

नेपालको सन्दर्भमा राजनैतिक परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गर्ने बाह्यशक्तिको दया र सहयोगको बोझको भारीबाट नेपाली राजनीतिज्ञहरु किचिएका छन्। विदेशी बाबुको दर्शन र मन्त्रणा लिने दौरमा नेताहरु व्यस्त रहन्छन्। स्वाफ्वा स्वाफ्वा गर्दै राजदूतहरुको आशिर्वचन लिन तछाड मछाड गर्नमा फूर्सद छैन। त्यति मात्र होइन आफ्नो योग्यता र पात्रता प्रमाणित गर्न यिनीहरुआफ्नो गौरवशाली जेलयात्रा र बलिदानी संघर्षको बखान गर्न कतै कुनै अवसरमा चुक्दैनन्। नेताहरुको तनमा सुकिलो लुगा त छ तर छवि भने भ्रष्ट आचारको परावर्तन भएको छ। नेतृत्व नक्कचरो भएको छ। स्वार्थका कारण सत्तासिन र विपक्षी दल दुवै अस्वस्थ वादविवाद र पदको लागि लुछाचुँडी गरिरहेका छन्। एक अर्कालाई सिध्दाउने खेलमा मस्त छन्। राष्ट्र र जनता तपसिलमा थाती भएका छन्। परिवर्तनको उपादयता भाषण, लेखोटमा मात्र सीमित भएको छ। आर्थिक समृध्दि नेतागण, तिनका परिवार र हुक्के बैठकेको सेरोफेरोमा सीमित भएको छ।

एकपटक काका गाउँबाट भतिजलाई भेट्न शहर गए छन्। शहर पुगेका काकालाई भतिजले कारमा राखेर शहर घुमाउन लगेछन्। काका औधी खुशी भए। शहरतिर हिँडेको केही समयमै कारको सन्तुलन गुम्यो र बाटोको छेउकै रुखमा ठक्कर खाएर कार दुर्घटनाग्रस्त भयो। केही समय पछि कार चलाइरहेका भतिजले अत्तालिएर सोधे, ‘काका हजुरलाई ठिक छ, चोटपटक त लागेन?’

‘लागेन भतिज’, उनले त्यसमा थपे, ‘होइन हो भतिज यो कार रोक्न भित्रै कुनै उपकरण छैन?’

भतिजले रातो पिरो हुँदै भने, ‘छ नि, काका। ब्रेक छ। यसले काम गरेन।’

बाहिरी ब्रेकको सहारा लिँदा ध्वंस सिर्जना हुने रहेछ। नेपालको बाह्य निर्देशित राजनैतिक परिवर्तन पनि सुकुलगुण्डा जस्तो भएको छ, देखिने एउटा तर सारतत्व भने अर्कै। सञ्चालनको कुञ्जी देश बाहिर, कुर्सीमा विराजमान नेताहरु बाह्य इसारामा नाँच्ने, जनताको नाममा आफ्नो अभिष्ट पूरा गर्ने, कुर्सीका लागि सिध्दान्त, आचार, नियम सबै उल्लंघन गर्ने, राज्य सञ्चालनमा प्रयुक्त संस्थाहरु बेकम्मा बनाउने आदि जस्ता वर्तमान परिदृश्यलाई अवलोकन गर्दा कतै नेपाली राजनीति पुन: एकपटक अस्थिरता र ध्वंसको प्रतिक त हुने होइन भन्ने डर र आशंका आम जनमानसमा उठ्न थालेको छ। फेरि एउटा अर्को परिवर्तन समयले माग गरेको अनुभूति हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?