
काठमाडौं- १४ औँ दलाई लामाले विश्व समुदायलाई आजन्म अहिंसा र करुणाको अभ्यास गर्न आग्रह गरेका छन्। आफ्नो ८६ औँ जन्मदिनमा शुभचिन्तकहरुलाई भिडियोमार्फत दिएको सन्देशमा भारतमा विगत ६२ वर्षदेखि निर्वासित जीवन बिताइरहेका दलाई लामाले आफ्ना हितैषी र मित्रहरुसँग उक्त आग्रह गरेका छन्।
विश्वमा धेरै व्यक्तिहरुले उनीप्रति इमान्दार मित्रभाव देखाएको भन्दै दलाई लामाले उनीहरुलाई भने, ‘म, तपाईँहरुलाई आश्वस्त गर्न चाहन्छु कि मेरो बाँकी जीवन मानवीयताकाे सेवा र वातावरण रक्षामा म समर्पित रहने छु।’
‘म शरणार्थी हुँ र भारतमा बसोबास गर्दै आएकाले म यहाँको स्वतन्त्रता र धार्मिक सौहार्दताको पूर्ण उपभोग गर्ने छु।’
‘ म यी काममा पूर्ण समर्पित रहनुका साथै भारतीय अवधारणा अनुरुपको म पन्थ निरपेक्ष (सेक्युलर)को प्रशंसा गर्दछु। इमान्दारी, करुणा र अहिंसासँग आबद्ध हुनुपर्छ’, उनले भने, ‘यही नै मेरा मित्रहरुका लागि मेरो जन्मदिनको उपहार हो।’
आफू जीवनभरि अहिंसा र करुणाप्रति समर्पित रहने प्रतिबद्धता दोहोर्याउँदै उनले भने,’ म मेरो मित्रहरुबाट उनीहरुले मृत्यु पर्यन्त अहिंसा र करुणाप्रति प्रतिबद्धता देखाउने अपेक्षा राख्दछु।’
उनले यो नै आफ्नो जीवनको सन्देश रहेको बताए। ‘मेरा सबै दाजुभाइ दिदीबहिनीहरुले जीवनभरि यी दुई कुरा साँचिराखून् भन्ने मेरो चाहना छ।’
प्रारम्भमा आफ्नो स्वभावत: ठट्यौली पारामा उनले भने, ‘म केवल एउटा मानव हुँ र धेरैले आफ्ना प्रेम प्रदर्शन गरेका छन् मप्रति।’ हाँसोका साथ उनले भने, ‘वास्तवमा कतिपयलाई मेरो मुस्कान प्रिय छ। अनि यो बृद्ध उमेरमा पनि म ह्यान्डसम छु। त्यसैले गर्दा पनि धेरैले मप्रति इमानदार मित्रभाव देखाएका छन्।’
जन्म दिनका अवसरमा यी मित्रहरुको प्रेम, आदर र विश्वासका लागि पनि उनले सबैलाई धन्यवाद दिएका छन्।
भिडियो हेर्नुहोस्: