हुम्ला – सिमकोट गाउँपालिका–७ को ओख्रेन बस्ती इन्टरनेट सेवासँग जोडिएको छ। ओख्रेस सामुदायिक वन उपभोक्ता समितिले आफ्नै लगानीमा गाउँलाई इन्टरनेट सेवा जडान गरेको हो।
स्थानीय हरिबहादुर शाहीका अनुसार सदरमुकाम सिमकोटसँग जोडिएर पनि हालसम्म नेपाल टेलिकमको इन्टरनेट सेवा नपुगेको ओख्रेन बस्तीमा सो सेवा जोडिएको बताए।
धेरै ठाउँमा इन्टरनेटको पहुँच पुर्याइदिन माग गरिए पनि कतैबाट माग पूरा नभएपछि गाउँकै सामुदायिक वन उपभोक्ता समितिको लगानीमा नेट सेवा जोडिएको हो।
कर्णाली करिडोरको मुख्य सडकखण्ड भएर पनि नेटले काम नगर्ने सो बस्तीमा वल्र्डलिंक कम्युनिकेसनको इन्टरनेट सेवा जडान भएको हो।
ओख्रेन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन्दिर सिंहले स्थानीयको माग र अहिलेको आवश्यकताअनुसार इन्टरनेट सेवा जडान गरिएको बताए।
यसबाट स्थानीय बासिन्दा इन्टरनेट सेवाबाट प्राप्त हुने सबै सेवामा पहुँच पुगेको छ। उक्त सेवाबाट बस्तीका ३४ घरधुरीका बासिन्दा लाभान्वित भएका छन्।
यसका लागि आफ्नै स्रोतबाट समितिले ९५ हजार रुपैयाँ लगानी गरेको हो। उनले नेटसेवा सुचारु भएपछि विशेष गरी युवायुवतीमा खुसियाली छाएको बताए।
वल्र्ड लिंकको इन्टरनेट सेवा जडानपछि अब टेलिकमको फोर जी सेवाबाट अग्ला डाँडामा गएर इन्टरनेट चलाउनुपर्ने बाध्यता स्थानीयलाई हटेको छ।
सदरमुकाम सिमकोटबाट उक्त बस्ती पुग्न गाडीमा ४० मिनेट र दुई घण्टा पैदल लाग्ने गर्छ। समुदायको आफ्नै लगानीमा पहिलो पटक दराजको बस्तीमो पहिलो पटक इन्टरनेट सेवा जडान भएको हो।