
गोरखाकी अनिता विश्वकर्माका दुवै मिर्गौला फेल भए। उपचार गर्दागर्दै आफूसँग भएको सबै सकियो। थप स्रोत केही भएन। धेरै नेपालीको जस्तै अभावमा ईश्वर पुकार्नु उनको पनि नियति बन्यो।
श्रीमान् भुवनसिंह विश्वकर्मा एक साधारण सवारी चालक हुन्। उनको कमाइले घर धान्नै गाह्रो छ। सास रहुञ्जेल आस तर बाँकी दवाइमूलो कसरी गर्ने? बिरामीलाई थोरै भए पनि पोषययुक्त खानेकुरा कसरी खुवाउने ? निराशाले भरिएका प्रश्नले घेरिए बिरामी अनिता र पति भुवनसिंह।
मृत्युसँग लडाइँको पीडा त छँदै थियो, आर्थिक अभावको झन् बोझिलो पीडा थपियो । पीडामाथि पीडा बोकेर प्राणपखेरू धानिरहेकी अनिताका वरिपरि मृत्युको भयमात्र हैन, निराशाको कालो बादल पनि मडारिन थाल्यो । त्यही बेला त्यो कालो बादलमा चाँदीको एउटा उज्यालो घेरा देखियो ।
नेपाल र नेपालीको दुःख–पीडा देख्दा र सुन्दा अमेरिका बस्ने नेपालीलाई पनि त्यो दुःख–पीडाको असह्य अनुभूति हुन्छ। नेपालमा धनी र राजनीतिक पहुँच हुनेका लागि सबै छ तर असहाय र आम नेपालीका लागि कहीँ केही छैन । दुःख–विमारमा न औषधिमूलो छ, न डाक्टर छन्, न अस्पताल छन्, न सरकार छ !

अनिता विश्वकर्मा।
देशमा तह–तहका सरकार छन् तर कुनै सरकारप्रति जनताको न विश्वास छ, न आशा छ, छ भने मात्र निराशा। अन्य धेरै मुलुकमा नागरिकले आफूलाई सुरक्षित ठान्छन् । दुःख–विमारमा मेरा लागि डाक्टर छन्, मेरा लागि सरकारले बनाएका राम्रा अस्पताल छन्, मेरा लागि मेरो देशको सरकार छ, उपचारबिना मर्दिन भन्ने विश्वासमा हुन्छन् जनता।
तर, सामान्य उपचार पनि नपाएर मर्न बाध्य नेपाली भने सास रहुञ्जेल रोग–बिमारमा पनि सरकार र उपचार हैन, ईश्वरको आश र विश्वासमा बाँच्न बाध्य छन् ।
यो बाध्यतालाई विदेश बस्ने धेरै मनकारी–उपकारी नेपालीले जस्तै अमेरिका बस्ने केही नेपालीले पनि अनुभूत गरेका छन्।
त्यही अनुभूतिबाट एउटा जमर्कोले जन्म लियो । रोगले रुग्ण अनिताले भोगिरहेको असह्य अभावको घाउमा मलमपट्टी गर्ने निधो गरे अमेरिकावासी नेपालीले।
विदेश बस्ने यी मनकारी–परोपकारी नेपालीहरु नेपाल सरकारसँग प्रश्न गर्छन्– नेपालका गरिब–दुःखीजनताले मेरा लागि मेरो सरकार छ भनेर कहिले आफूभित्र विश्वासको दियो बाल्ने ? सरकार, म उपचार बिना मर्दिन भनेर कहिले भरोसाको सास फेर्ने ?
न्यु हेम्पशायरमा रहेका जुझारु जीवन गुरुङ ‘अनिताविश्वकर्मा सहयोग अभियान’लाई सार्थक बनाउन जुटे । सारथी र सहयोगीहरु थपिए । तीन दिनमा ८ लाख ८६ हजार ८ सय आठ रूपैयाँ उठ्यो । पाँचौ दिनमा श्रीमान् भुवन सिंहका हातले सम्पूर्ण रकमको एकमुष्ट चेक समाए । उनको अनुहारमा साहस र विश्वासको रङ पोतियो । सबैलाई सादर धन्यवाद भने ।

चेक ग्रहण गर्दै अनिता विश्वकर्मा।
सहयोग रकम पाउँदा अनिताको मलिन अनुहारमा पनि खुसीको उज्यालो उदायो । अब उनी बाँचुञ्जेल त्यो खुसीको उज्यालो पनि बाँच्ने छ । सहयोगी सबैले कामना गरेका छन्– उनी बिसेक हुन्, बाँचून् ! धेरै बाँचून्!
तर विदेश बस्ने यी मनकारी–परोपकारी नेपालीहरु नेपाल सरकारसँग प्रश्न गर्छन्– नेपालका गरिब–दुःखीजनताले मेरा लागि मेरो सरकार छ भनेर कहिले आफूभित्र विश्वासको दियो बाल्ने ? सरकार, म उपचार बिना मर्दिन भनेर कहिले भरोसाको सास फेर्ने ?
प्रश्न यति मात्र हैन, जनप्रतिनिधि र सरकार कहिले जनताप्रति उत्तरदायी हुने ? देशका आम जनताले देशमा सरकार भएको अनुभूति कहिले गर्ने ? अनिता विश्वकर्माको नियति कति नेपालीले कहिलेसम्म भोग्नुपर्ने ? उपचारविहीन भएर कहिलेसम्म कति नेपाली मर्नु पर्ने ? त्यसमाथि अभावको आगोमा पिल्सिएर कति नेपाली जिउँदै मरेर बाँच्नु पर्ने?
कति अनिताहरुले विदेशिएका नेपालीसम्म पहुँच गर्न सक्छन् र धेरथोर सहयोग प्राप्त गर्न सक्छन् ? कहिले सोच्ने ? कसले सोच्ने ?
सरकार, प्रश्न अर्को पनि छ– नेपाल र नेपालीलाई परेको दुःखमा विदेशिएका नेपालीले सकेको सहयोग सधैं गरिरहेका छन् र गरिरहने छन् तर कतिलाई गर्ने ?
संसारकै विकासोन्मुख मुलुकमध्ये जनताबाट अत्यधिक कर असुल गर्ने नेपाल सरकार र जनप्रतिनिधिले चाहिँ के गर्ने ? सरकारले मात्र हैन नेपाली नागरिकले पनि यी प्रश्नको उत्तर कहिले खोज्ने?