
बागलुङ – कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ। जिल्लाका ८५ वडामध्ये अब दुईमात्रै रेडजोनमा छन् ।
स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको सङ्क्रमण ग्राफले बागलुङ नगरपालिका–२ र ५ मात्रै रेडजोनमा परेका छन्। तीबाहेक अन्य स्थान सामान्य भइसकेका छन्। वडा नंं २ मा १६ र वडा नंं ५ मा १३ कोरोनाका सक्रिय सङ्क्रमित छन्।
अब बागलुङ– १, ३, ४, ६, ७ र ८ तथा वडा नंं १२, १३ र १४ मा केही सङ्क्रमित होम आइसोलेसनमा बाँकी छन्। नगरपालिकाभित्र कुल ४९ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए। सरकारले सात जनाभन्दा कम सङ्क्रमित भएमा त्यस्तो वडालाई पहेँलो, सात जनाभन्दा बढी संख्या सङ्क्रमित भएमा रातो चिह्न लगाउने प्रावधान राखेको छ।
अब गलकोट नगरपालिका–११, काठेखोलामा पाँच, बरेङमा चार, जैमिनीमा एक र तमानखोलामा एकजना सक्रिय सङ्क्रमित बाँकी छन्। अन्य सबै वडालाई नीलो रङ लगाइसकिएको छ।
गत साउन तेस्रो सातादेखि भदौ १५ गतेसम्म निरन्तर निषेधाज्ञा गरेपछि जिल्लामा सङ्क्रमित घटेको हो। अझै पनि सुरक्षित रहनुपर्ने अवस्था भने बाँकी नै रहेको कार्यालयका प्रमुख सुरज गुरौले बताए।