
दमौली – तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ। व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो।
प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमुनाको नतिजा प्रमाणीकरणका आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पीसीआर परीक्षणको तयारी गरिएको जानकारी दिए। प्रयोशालामा पाँच जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ। प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ। त्यसको नतिजा साढे दुई घण्टामा प्राप्त हुन्छ।
‘जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब जिल्लामै सहज रुपमा छिटो, छरितो परीक्षण हुन्छ ।’
यसका लागि संघीय सरकारले नगरपालिकालाई रु २५ लाख बजेट सहयोग गरेको थियो। पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि नगरपालिका आफैले व्यवस्था गरेको हो। यसका लागि व्यासका जनप्रतिनिधिले एक महिनाबापतको रु १२ लाख सहयोग गरेका छन्।
नगरपालिकाअन्तर्गत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीले प्रयोगशालाका लागि रु ६ लाख सहयोग गरेका छन्। यसका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अस्टे«लियाको तर्फबाट रु दुई-दुई लाख सहयोग गरिएको थियो।
देवघाटको अस्थायी कोभिड अस्पताल बन्द
कोरोना सङ्क्रमितको उपचार गर्नका लागि तनहुँको देवघाट गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द भएको छ। गाउँपालिकास्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त अस्पताल बन्द गर्ने निर्णय गरेको हो।
गाउँपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव न्यून हुँदै गएको र भएका सङ्क्रमितलाई पनि अस्पतालमा राख्नुपर्ने स्थिति नभएकाले समितिले अस्थायी कोभिड अस्पताल बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए।
अस्पताललाई हाल बन्द गरी अन्य प्रयोजनमा ल्याउने र फेरि सङ्क्रमितको संख्या बढेर बिरामी राख्नुपर्ने स्थिति आएमा पुनः सञ्चालन गरिने उनले बताए। कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन हरेक हप्ताको आइतबार पीसीआर परीक्षण गरिने तथा दैनिक एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको छ।
गाउँपालिकामा हालसम्म ५५३ जनाको पीसीआर परीक्षण गर्दा २१ जना महिला र ३३ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए।
त्यस्तै एन्टिजेन विधिबाट १५३ को परीक्षण गर्दा ६ जना महिला र ९ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।