
मकवानपुर– जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण गर्ने हेटौंडा उपमहानरपालिका १० स्थित एक फार्मेसीमा सिलबन्दी गरेको छ।
प्रशासनले हेटाैंडा उपमहानगर–१० राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा सिलबन्दी गरी आइतबार कारबाही प्रक्रिया अगाडि बढाएको हो।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल गरेको छ। अनधिकृत व्यक्तिले सो फार्मेसीबाट औषधि बिक्री गरेको पाइएकाले सिल गरेर कारबाही प्रक्रिया अगाडि बढाएको सो कार्यालयले जनाएको छ।
हेटाैंडा अस्पतालका चिकित्सकले बीमाको औषधि अस्पतालको फार्मेसीमा नरहेको भन्दै गुराँसमा सिफारिस गर्दै आएको गुनासो बढेपछि प्रशासनबाट अनुगमन भएको बताइएको छ।
यसैगरी प्रशासनले हेटौंडा–१ र १० का किराना पसल तथा मेडिकल पसल गरी एक दर्जन पसलको अनुगमन गरेको जनाएको छ। सो अनुगमन टोलीमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो।