
काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको दाबी पेश भएको छ।
गठबन्धनका तर्फबाट ५९ जना सांसदको समर्थनसहित पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेका हुन्।
शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको समाजवादीका सांसद वसन्त मानन्धरले जानकारी दिए।
जसमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, एकीकृत समाजवादीका १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य छन्।
मानन्धरले दाबी पेश भएसँगै बिहीबार दिउँसो ३ः१५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको देश सञ्चारलाई जानकारी दिए। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बिहीबार नै प्रदेशसभामा राजीनामा घोषणा गरेकी थिइन्।