जलवायु परिवर्तन

जलवायु संकट रोक्ने सबै क्षेत्रगत प्रयास असफल : अध्ययन

जलवायु संकट रोक्ने सबै क्षेत्रगत प्रयास असफल : अध्ययन
+
-

जलवायु परिवर्तनको गम्भीर असर रोक्नका लागि गर्नुपर्ने प्रयासमा सबै क्षेत्रहरु असफल रहेको पछिल्लोपटक सार्वजनिक भएको विश्वव्यापी विश्लेषणात्मक अध्ययन प्रतिवेदनले जनाएको छ। हरेक पक्षमा तीव्र गतिको परिवर्तन चाहिने भए पनि त्यसअनुसार काम भने हुन नसकेको ‘स्टेट अफ क्लाइमेट एक्स २०२१’ प्रतिवेदनमा उल्लेख छ।

पेरिस जलवायु सम्झौताले निर्धारण गरेअनुसार यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने सम्भावना जीवित राख्नका लागि विश्वव्यापी रुपमा भइरहेका अहिलेका प्रयासहरु पर्याप्त नरहेको प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तनको कारक तापमान वृद्धि नियन्त्रणका लागि विभिन्न ४० क्षेत्रमा भएका प्रयासहरुको विश्लेषण गरेर प्रतिवेदन तयार पारिएको हो। ऊर्जा, ठूला उद्योगहरु, कृषि, यातायात, वित्त तथा प्रविधिसहितका क्षेत्रमा भएका परिवर्तन वा यी क्षेत्रमा जलवायु परिवर्तन न्यूनीकरणका लागि गरिएका प्रयासको विश्लेषण गर्दा कुनै पनि क्षेत्रमा अवस्था चिन्ताजनक देखिएको प्रतिवेदनमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय क्लाइमेट च्याम्पियन्स, क्लाइमेट एक्सन ट्रयाकर, क्लाइमेट वर्क्स फाउन्डेसन, बेजेस अर्थ फण्ड र वर्ल्ड रिसोर्स इन्स्टिच्युटले तयार पारेको ‘सिस्टम चेन्ज ल्याब रिपोर्ट’ अनुसार विश्वको तापक्रम वृद्धि औद्योगिक क्रान्तिपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने पेरिस सम्झौताको लक्ष्य पूरा हुने गरी अहिलेसम्म कुनै पनि क्षेत्रमा काम भएको छैन।

४० वटा सूचकलाई राखेर गरिएको विश्लेषणात्मक अध्ययनमा कुनै पनि सूचकहरु तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नमा सन् २०३० सम्मका लागि तय गरिएको लक्ष्य भेट्ने मार्गमा देखिएका छैनन्। सबै सूचकहरु तापक्रम वृद्धि अधिक गर्नेतर्फ रहेको र त्यसले जलवायुजन्य गम्भीर संकट निम्त्याउने उल्लेख छ।

पेरिस जलवायु सम्झौताले वाचा गरेअनुसार काम गर्नका लागि विश्व समुदायले ठोस कदम चाल्ने अपेक्षा गरिएको कोप–२६ संघारमा आएका बेला गम्भीर चेतावनी प्रस्तुत गर्नेमध्येको पछिल्लो प्रतिवेदनले सबै क्षेत्रमा भइरहेका कामहरु गम्भीर असरतर्फ रहेको देखाएको हो।

हालै संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठनले जारी गरेको प्रतिवेदनमा वायुमण्डलमा गएको वर्ष हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च रहेको उल्लेख थियो। यस्तै संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले मंगलबार जारी गरेको इमिसन ग्याप रिपोर्टमा तापमान वृद्धि १.५ डिग्रीमा सीमित गर्नका लागि आवश्यक पर्ने तहमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्न देशहरु असफल रहेको उल्लेख गरिएको छ।

अहिले जारी भएको ‘स्टेट अफ क्लाइमेट एक्स २०२१’ मा क्षेत्रगत रुपमा भएका प्रयासहरुको विश्लेषण गरिएको हो। विश्लेषण गरिएकामध्ये ८ सूचकमा भइरहेका परिवर्तनहरु सकारात्मक दिशामा रहेको तर ती प्रयासहरु अपर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ। यस्तै १७ सूचकमा भएका परिवर्तनहरु सही दिशामा रहे पनि आवश्यकभन्दा निकै सुस्त गतिमा रहेको वैज्ञानिकहरुले बताएका छन्।

तीन सूचकको परिवर्तन स्थिर छ भने अरु तीन सूचकको मार्ग गलत दिशातर्फ गएको प्रतिवेदनमा उल्लेख छ। गलत दिशामा रहेका सूचकहरुमा यातायात, भूमि उपयोग तथा तटीय क्षेत्र व्यवस्थापन र कृषि रहेको प्रतिवेदनमा उल्लेख छ। अरु ९ सूचकको विश्लेषणका लागि अहिले प्राप्त तथ्यांकहरु अपर्याप्त रहेको उल्लेख गरिएको छ।

यो शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित गर्नका लागि सन् २०३० सम्मका लागि तय गरिएको लक्ष्य प्राप्त गर्नका लागि जलवायुजन्य गतिविधिका लागि वित्तीय सहयोग १३ गुणा बढाउनु पर्ने देखिएको वैज्ञानिकहरुले बताएका छन्।

केही महिना पहिले जलवायु परिवर्तनका लागि अन्तरसरकारी संस्था (आइपिसिसी) ले जारी गरेको प्रतिवेदनमा तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न सकिने सम्भावना अझै पनि रहेको तर त्यसका लागि प्रयासहरुको गति बढाउनु पर्ने उल्लेख थियो । तर पछिल्लो क्षेत्रगत सूचकहरुले भने सो उद्देश्य निकै कठिन रहेको र अहिलेकै प्रयासहरुले असम्भव देखाएको हो।

यो पनि पढ्नुहोस्

के हुँदैछ कोप-२६ मा? यो किन नेपालका लागि महत्वपूर्ण छ?

के हुँदैछ कोप-२६ मा? यो किन नेपालका लागि महत्वपूर्ण छ?

कोप–२६ : हिन्दू कुश हिमालय क्षेत्रका लागि किन महत्वपूर्ण?

कोप–२६ : हिन्दू कुश हिमालय क्षेत्रका लागि किन महत्वपूर्ण?

तापक्रम वृद्धि : लक्ष्य १.५ मा समेट्ने तर याेजना २.७ डिग्री सेल्सियसतर्फ

तापक्रम वृद्धि : लक्ष्य १.५ मा समेट्ने तर याेजना २.७ डिग्री सेल्सियसतर्फ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?