
गण्डकी – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शतप्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ।
मञ्चद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत खुला ४२.१९५ किमि म्याराथनतर्फ प्रथम पुरस्कार चार लाख नगद पुर्याइएको घोषणा गरिएको हो।
यो पुरस्कार राशि गत वर्षको भन्दा दोब्बर हो । फागुन १९ गते पोखरामा आयोजना हुने १६औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै २१ किमि महिला हाफ म्याराथनबाहेक महिला पुरुष १० किमि र छात्रछात्रा पाँच किमि, ह्विल चियर तथा दृष्टिविहिन दौडतर्फ गत वर्षको तुलनामा पाँच–पाँच हजार रुपैयाँ राशिमा वृद्धि गरिएको हो।
नेपालको म्याराथन इतिहासमै पोखरा म्याराथनमा पुरस्कार चार लाख पुर्याइएको दाबी गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले ४२.१९५ किमितर्फको दोस्रो पुरस्कार दुई लाख, तेस्रो हुनेले एक लाख र सान्त्वनातर्फ ३० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए।
सबै विधातर्फ गरी कुल २८ जना पुरस्कृत हुनेछन्। पुरस्कार राशि वृद्धि गरिएको बताउँदै उनले भने, ‘गत वर्ष पुरस्कार राशि आठ लाख रहेकामा यस वर्ष सबै विधागत रूपमा बढाउँदा १२ लाख ३० हजार पुर्याएका छौँ।
पुरस्कार राशिमा वृद्धिले दक्षिण एसियाली देशका धावकसँगै अन्य अन्तर्राष्ट्रिय धावकलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भने, ‘म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास लिएका छाँै’
आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजनासँगै प्रथम पुरस्कार राशि १० लाख पु¥याउने लक्ष्यसाथ अघि बढेको बताए। यनले भने, ‘अभियान पूरा गर्न संघ, प्रदेश, स्थानीय सरकार र प्रायोजक संघसंस्था र सरोकारवालाहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।
सुजल डेरीको सफल दूध मुख्य प्रायोजक
पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुपअन्तर्गत उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दूधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकालाई निरन्तरता दिएको छ । ६ वर्षदेखि निरन्तर पोखरा म्याराथनसँग सहकार्य गर्दै आएको सफल दूधले आगामी तीन वर्षका लागि मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ।
उद्योगका निर्देशक सुनील श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौतापत्र आदानप्रदान गरेका थिए। सो अवसरमा उद्योगका निर्देशक श्रेष्ठले पोखरा म्याराथनसँग सम्झौता गर्न पाउनु सुखद रहेको बताए।
पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउँदै खेलकुद पर्यटनको राजधानीका रुपमा स्थापित गर्न उद्योगले सहयोग गर्दै आएको उनले बताए।
कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले पोखरालाई मात्रै नभई गण्डकीलाई दौडको प्रदेशको रूपमा स्थापित गर्न परिषद्ले आफ्ना कार्यक्रम तय गरेको जानकारी दिए।
पोखरा म्याराथन सफल बनाउन विदेशमा भएका संस्था पोखरेली मञ्च युके, तमु धि युके, एआरएनए युके, हङकङ, अमेरिकालगायत देशमा छरिएर रहेका नेपालीहरूको महत्वपूर्ण भूमिकाप्रति आभार प्रकट गर्दै पोखरा म्याराथन जेठो म्याराथनको रूपमा स्थापित भए पनि अझै चुनौती रहेको उनको भनाइ छ।
मेजर दिलबहादुर गुरुङको संयोजकत्वमा खड्गबहादुर रानाभाट, अशोक पालिखे, योगेन्द्रबहादुर बस्नेत, जयराम हमाल, जगनबहादुर गुरुङ, खेमबहादुर गुरुङ, मञ्जुलमान श्रेष्ठ, शम्भु कार्की, तिलक केसी, महेश गुरुङ, गणेशबहादुर भट्टराई, नारायण कार्की, प्राडा वीरेन्द्रसिंह गुरुङ र खेमबहादुर गुरुङ छन् भने १४ सदस्यीय सल्लाहकार समितिको पनि घोषणा गरिएको थियो ।