
भक्तपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुसी व्यक्त गरेका छन्। उनले विद्युतीय पात्रोले सांस्कृतिक कुराहरुको बोध गराउने विश्वाससमेत व्यक्त गरे।
नेपाल संवत ११४२ न्हु दँको अवसरमा शुक्रबार भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको सालिकमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवतको विद्युतीय पात्रो निर्माणले सरकारी कामकाजमा पनि सहयोग हुने विश्वास लिएको बताए।
प्रधानमन्त्री देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पणसमेत गरेका थिए। उक्त अवसरमा उनले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाःको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताए।
‘उहाँले ऋणमा रहेका नेपालीहरुलाई ऋणबाट मुक्त गर्नुभयो। उहाँ जस्तो देशका लागि योगदान पु¥याउने व्यक्ति बिरलै पाइन्छन्। उहाँको प्रेरणाबाट हामीले सिक्न जरुरी छ’, प्रधानमन्त्री देउवाले भने, ‘आजमात्रै सार्वजनिक भएको नेपाल संवतको विद्युतीय पात्रो मोबाइल एप नेपाल संवतको निर्माणले हाम्रो दैनिक जीवनमा विविध सांस्कृतिक बोध गराउँछ। सरकारी कामकाजमा पनि सहयोग हुने विश्वास लिएको छु।’