
विश्वमा प्रचलित उपचारपद्धतिमध्ये सबैभन्दा पुरानो उपचारपद्धति आयुर्वेद हो। आजभोलि यो उपचारपद्धति विश्वभरि नै लोकप्रिय हुँदै गएको देखिन्छ। आयुर्वेदले व्याख्या गरेको कुनै पनि सिद्धान्तलाई अहिलेसम्म आधुनिक विज्ञानका परीक्षणले गलत सावित गरेको देखिँदैन। यसबाट आयुर्वेदको ज्ञान शाश्वत र अनुसरणीय भएको कुरा पुष्टि हुन्छ।
आयुर्वेद भारतवर्षकै महनीय र अत्यावश्यक विद्या हो। आयुर्वेदमा रोग लाग्न नदिने र लागेको रोग निको पार्ने स्वास्थ्यका नियम बताइएको छ। यसको पाश्र्वप्रभाव अत्यन्त न्यून रहेको देखिन्छ। यो आयुर्वेदको महत्त्वपूर्ण विशेषता हो। आयुर्वेदले कतिपय दीर्घरोगलाई समेत पूर्ण रूपमा निको पार्ने गरेको तथ्य उल्लेखनीय छ।
आयुर्वेदको उत्पत्ति
आदिकालमा आयुर्वेदशास्त्रको प्रवचन ब्रह्माबाट भएको थियो। ब्रह्माबाट दक्षप्रजापतिले, दक्षप्रजापतिबाट अश्विनीकुमारहरूले, अश्विनीकुमारहरूबाट इन्द्रले र इन्द्रबाट धन्वन्तरिले आयुर्वेदको ज्ञान प्राप्त गरेको कुरा सुश्रुतसंहितामा उल्लिखित छ।
यसै ग्रन्थमा धन्वन्तरिको अवतारका रूपमा भूलोकमा अवतीर्ण भएका काशीराज दिवोदासले उपदेश गरेको आयुर्वेदको सुश्रुत इत्यादिले लोकमा प्रचार गरेको कुरा वर्णन गरिएको छ। यस सम्प्रदायको मूल ग्रन्थ सुश्रुतसंहिता हो। यस सम्प्रदायमा शल्यचिकित्साको प्रधानता रहेको देखिन्छ। सुश्रुतलाई आधुनिक विश्वले समेत प्रथम शल्यचिकित्सकका रूपमा वा शल्यचिकित्साका पिताका रूपमा मानेको छ। सुश्रुतसंहिता अहिले नागार्जुनबाट प्रतिसंस्कार अर्थात् परिष्कार गरिएका रूपमा उपलब्ध छ। यसमा डल्हणले गरेको व्याख्या पनि पाइन्छ।
अर्को सम्प्रदायअनुसार चाहिँ इन्द्रबाट भरद्वाजले, भरद्वाजबाट अंगिरा–आत्रेयलगायतका ऋषिहरूले र पुनर्वसु–आत्रेय मुनिबाट अग्निवेशादि मुनिहरूले आयुर्वेद पढेको कुरा चरकसंहितामा वर्णन गरिएको छ। अग्निवेश मुनिले रचेको आयुर्वेदतन्त्रको चरक मुनिले प्रतिसंस्कार गरेकाले यस सम्प्रदायको मूल ग्रन्थ अहिले चरकसंहिताका नामले प्रसिद्ध छ।
यस सम्प्रदायमा कायचिकित्साको अर्थात् सम्पूर्ण शरीरमा व्याप्त हुने ज्वर जोरो), कुष्ठरोग, अतिसार झाडापखाला) अपस्मार छारेरोग) इत्यादि रोगहरूको उपचार गर्ने चिकित्साको प्रधानता रहेको छ। पञ्चनदपुरमा जन्मेका दृढबलद्वारा त्रुटित अंश जोडेर पूरण गरिएको चरकसंहिता हाल उपलब्ध छ। यसमा चक्रपाणिदत्त गंगाधर इत्यादिले गरेका व्याख्या पाइन्छन्।
चरक–सुश्रुतहरूकै ग्रन्थका आधारमा रचिएको अष्टाङ्गहृदयचाहिँ अनुभवसिद्ध आयुर्वेदीय विषयहरूको व्यावहारिक तथा संक्षिप्त संग्रह हो। यसमा हेमाद्रिको विस्तृत व्याख्या पनि उपलब्ध छ।
आयुर्वेदका आचार्य धन्वन्तरिको जयन्ती भर्खरै त्रयोदशीमा) गएको छ। यसै सन्दर्भमा उपर्युक्त तीन ग्रन्थका आधारमा मूल श्लोकहरू पनि उद्धृत गर्दै लेखिएको प्रस्तुत लेखमा जनसाधारणका लागि पनि उपयोगी आयुर्वेदीय उपचारपद्धतिका सारभूत विषयहरूको संक्षिप्त चर्चा गरिन्छ।
आयुर्वेदको प्रचारमा ऋषिहरूको उद्देश्य
धर्मार्थं नार्थकामार्थ–
मायुर्वेदो महर्षिभिः।
प्रकाशितो धर्मपरै–
रिच्छद्भिः स्थानमक्षरम्।।
–चरकसंहिता, चिकित्सास्थान १।४।५७।
धन कमाएर सुखको भोग गर्नहैन, लोकोपकार गरी धर्मको आर्जन गर्न मोक्षेच्छुक धर्मपरायण महर्षिहरूद्वारा लोकमा आयुर्वेदशास्त्र प्रकाशित गरिएको छ।
यसको श्लोकको आशय मनन गर्दा अहिलेका चिकित्साविज्ञानीहरूले मुख्यतया अर्थोपार्जनका निम्ति नै आफ्नो ज्ञानको उपयोग गर्ने गरेको कुरा हाम्रो प्राचीन चिकित्साशास्त्रले बताएको नैतिकताको अनुकूल देखिँदैन भन्ने कुरा स्पष्ट हुन्छ।
स्वास्थ्यरक्षाका उपायहरू
धर्म, अर्थ, काम, मोक्ष यी चारै पुरुषार्थको मूल आरोग्य भएकाले आरोग्यको प्राप्ति नै सर्वाधिक महत्त्वपूर्ण कुरा हो भनी आयुर्वेदले स्वास्थ्यरक्षामा अत्यन्त जोड दिएको छ। आयुर्वेदमा स्वास्थ्यरक्षाका निम्ति मानसिक शुद्धि, शारीरिक शुद्धि, कर्म–शुद्धि, भोजन–शुद्धि इत्यादि विभिन्न प्रकारका शुद्धिहरूको आवश्यकता देखाइएको छ। सत्कर्म गर्नाले मान्छे निरोगी हुने कुरा पनि बताइएको छ—
वृत्युपायान् निषेवेत
ये स्युर्धर्माविरोधिनः।
शममध्ययनं चैव
सुखमेवं समश्नुते।।
–चरकसंहिता, सूत्रस्थान ५।१०४।
धर्मको अविरोधी वृत्तिले आफ्नो जीवनयात्रा चलाउनाले, सत्–शास्त्रको अध्ययन–मनन गर्नाले र शान्त हुनाले सुख अर्थात् आरोग्य प्राप्त हुन्छ भन्ने यस श्लोकको अर्थ हो।
सत्यवादिनमक्रोध–
मध्यात्मप्रवेणेन्द्रियम्।
शान्तं सद्वृृत्तनिरतं
विद्यान् नित्यरसायनम्।।
–अष्टाङ्गहृदय, उत्तरस्थान ३९।१८०।
सत्यवादी हुनु, अक्रोधी हुनु, अध्यात्मचिन्तनतिर इन्द्रियहरूलाई लगाउनु, शान्त भइरहनु र सदाचारी हुनु सधैँ रसायनको सेवन गर्नुजस्तै हो। उपर्युक्त सद्गुणहरूको सेवनले रसायनको सेवनले झैँ मानिसलाई स्वस्थ र दीर्घायु बनाउँछ, अन्य रसायनको सेवन गरिरहन पर्दैन भन्ने चरक–मुनिको मूल उपदेशलाई (चरकसंहिता, चिकित्सास्थान १।४।३०–३४) अष्टाङ्गहृदयकार वाग्भटले संक्षेपमा देखाएका हुन्। रसायन भनेको शरीरलाई स्वस्थ र बलियो बनाउने तथा बुढ्यौली ढिलो पार्ने आयुर्वेदीय औषध हो।
आहार–शयन–ब्रह्म–
चर्यैर् युक्त्या प्रयोजितैः।
शरीरं धार्यते नित्य–
मागारमिव धारणैः।।
–अष्टाङ्गहृदय, सूत्रस्थान ७।५२।
जसरी खम्बाहरूले घरलाई धान्दछन्, त्यसरी नै यथोचित रूपमा सेवन गर्नाले आहार, निद्रा र ब्रह्मचर्यले शरीरलाई धान्दछन्। अर्थात् उचित किसिमले भोजन गर्नुले, समयमा सुत्नु–उठ्नुले र ब्रह्मचर्यको पालन गर्नुले शरीरलाई स्वस्थ रूपमा धेरै सयमसम्म अड्याउँछन्।
आयुष्मन्तो मन्दजरा
वपुर्वर्णबलान्विताः।
स्थिरोपचितमांसाश्च
भवन्ति स्त्रीषु संयताः।।
–सुश्रुतसंहिता, चिकित्सास्थान २४।११२।
स्त्रीहरूमा बढ्ता आसक्त नहुने पुरुषहरू दीर्घायु हुन्छन्। साथै यिनीहरूलाई बुढ्यौलीले पनि चाँडै छुँदैन। शरीर हृष्टपुष्ट–बलिष्ठ हुन्छ र वर्ण राम्रो हुन्छ। यस्ता व्यक्तिका मांसपेशी स्थिर र पुष्ट पनि हुन्छन्।
नाङ्गैश्चेष्टेत विगुणं
नाऽऽसीतोत्कटकश् चिरम्।
देह–वाक्–चेतसां चेष्टाः
प्राक् श्रमाद् विनिवर्तयेत्।।
–अष्टाङ्गहृदय, सूत्रस्थान २।३६।
अङ्गहरूलाई प्रतिकूल रीतिले सञ्चालन नगर्ने, धेरै बेरसम्म असजिलो गरेर नबस्ने र शरीर, वाणी तथा मनको चेष्टालाई थाक्नुभन्दा अगाडि नै रोक्ने गर्नाले स्वास्थ्यलाई विशेष लाभ हुन्छ।
आयुष्यं भोजनं जीर्णे
वेगानां चाऽविधारणम्।
ब्रह्मचर्यमहिंसा च
साहसानां च वर्जनम्।।
–सुश्रुतसंहिता, चिकित्सास्थान २८।२८।
पहिले खाएको वस्तु पचिसकेपछि मात्र अर्को पटक खानुुपर्छ। शरीरका विभिन्न वेगलाई अर्थात् दिसा, पिसाब आदिलाई रोक्नुहुँदैन। ब्रह्मचर्य तथा अहिंसाको पालन गर्नुपर्छ। साथै खतरा मोलेर साहसिक काम गर्नु पनि हुँदैन। यी नियमहरूको पालन गर्नाले मान्छेको आयु बढ्छ।
न रागान् नाऽप्यविज्ञाना–
दाहारमुपयोजयेत्।
परीक्ष्य हितमश्नीयाद्
देहो ह्याहारसम्भवः।।
–चरकसंहिता, सूत्रस्थान २८।४१।
कहिल्यै पनि रागको अर्थात् लोभको वशमा परेर वा आफ्नो हित–अहित नजानीकन खाना खाने काम गर्नु हुँदैन। कुन खाने कुराले आफ्नो स्वास्थ्यलाई राम्रो गर्छ भन्ने बुझेर चिनेर मात्र खाने कुरा खानुपर्छ, किनभने शरीर खाने कुराबाटै बन्ने र अडिने हो।
संक्रामक रोगबाट बच्न उपदेश
प्रसङ्गाद् गात्रसंस्पर्शान्
निश्वासात् सहभोजनात्।
सहशय्यासनाच् चापि
वस्त्र–माल्या–ऽनुलेपनात्।।
कुष्ठं ज्वरश्च शोषश्च
नेत्राभिष्यन्द एव च।
औपसर्गिकरोगाश्च
सङ्क्रामन्ति नरान् नरम्।।
–सुश्रुतसंहिता, निदानस्थान ५।३२–३३।
यौन सम्पर्कबाट, शरीरको स्पर्शबाट, श्वास–प्रश्वासबाट, सँगै खानाले, सँगै सुत्नाले र एउटै लुगा वा माला पहिरिनाले पनि कुष्ठरोग, जोरो (ज्वर), क्षयरोग, आँखा पाक्ने रोग इत्यादि सङ्क्रामक रोगहरू एकबाट अर्को मान्छेमा सर्छन्। तसर्थ रोगग्रस्त व्यक्ति र स्वस्थ व्यक्तिबीच उपर्युक्त प्रकारको सम्बन्ध वर्जित गर्नू भन्ने लोकहितैषी ऋषिमुनिहरूको उपदेश हो।
चिकित्सकको योग्यता र धर्म
चिकित्सक जिज्ञासु, बुद्धिमान् र आफूमा चिकित्सकका निम्ति उचित गुणहरू सम्पादन गर्न अत्यन्त प्रयत्नशील पनि हुनुपर्छ। चिकित्सकको महत्त्वका विषयमा यस्तो भनिएको छ—
विद्यासमाप्तौ ब्राह्मं वा
सत्त्वमार्षमथापि वा।
ध्रुवमाविशति ज्ञानात्
तस्माद् वैद्यो द्विजः स्मृतः।।
–चरकसंहिता, चिकित्सास्थान १।४।५३।
चिकित्सा–विद्या अध्ययन गरिसकेपछि ज्ञानले गर्दा त्यस व्यक्तिमा ब्रह्माजीको वा ऋषिको जस्तो सत्त्व अर्थात् स्वभाव निश्चय नै पस्दछ। यसप्रकार ज्ञानद्वारा अर्को पटक जन्मेको चिकित्सकलाई द्विज भनिन्छ। यस्तो उच्च तहमा पुगेको व्यक्तिको कर्तव्यका विषयमा भनिएको छ—
दुःखिताय शयानाय
श्रद्दधानाय रोगिणे।
यो भेषजमविज्ञाय
प्राज्ञमानी प्रयच्छति।।
त्यक्तधर्मस्य पापस्य
मृत्युभूतस्य दुर्मतेः।
नरो नरकपाती स्यात्
तस्य सम्भाषणादपि।।
–चरकसंहिता, सूत्रस्थान १।१२९–१३०।
जुन चिकित्सकले रोग नठम्याईकन आफूलाई जान्ने व्यक्ति सम्झँदै दुःखित, ओछ्यान परेको र चिकित्सकप्रति श्रद्धा राख्ने रोगीलाई लापर्वाही गरी औषधी दिन्छ, त्यस्तो धर्मत्यागी, पापी, दुर्बुद्धि तथा साक्षात् यमराजस्वरूप चिकित्सकसँग बातचित गर्ने व्यक्तिसमेत नरकमा पर्छ। यसप्रकार आफ्नो कर्तव्यबाट च्युत नहुन चिकित्सकलाई चरकमुनिले सावधान गर्नुभएको छ। कर्तव्यपारायण चिकित्सकचाहिँ सबैको पूजनीय हुन्छ पनि भनिएको छ—
शीलवान् मतिमान् युक्तो
द्विजातिः शास्त्रपारगः।
प्राणिभिर् गुरुवत् पूज्यः
प्राणाचार्यः स हि स्मृतः।।
–चरकसंहिता, चिकित्सास्थान १।४।५१।
चिकित्साशास्त्रमा पारंगत, शीलवान्, बुद्धिमान् र आफ्नो कर्तव्यमा सदा संलग्न चिकित्साशास्त्रको ज्ञानको उदयले गर्दा दोस्रो जन्म भएको चिकित्सकलाई सबैले गुरुलाई झैं सम्मान गर्नुपर्छ। उक्त गुण भएको व्यक्ति नै वास्तविक प्राणाचार्य (चिकित्सक) हो।
चिकित्सकले शुल्कका दृष्टिले रोगीको उपचार नगरी धर्मका दृष्टिले गर्नुपर्ने र रोगीले पनि रोग निको पार्ने चिकित्सकलाई कृतज्ञतास्वरूप यथाशक्ति उपहार दिनुपर्ने व्यवस्थासमेत आयुर्वेदमा उल्लेख गरिएको देखिन्छ— चरकसंहिता, चिकित्सास्थान, १।४।५५–६२।
सार–संक्षेप
नरो हिताहारविहारसेवी
समीक्ष्यकारी विषयेष्वसक्तः।
दाता समः सत्यपरः क्षमावा–
नाप्तोपसेवी च भवत्यरोगः।।
–चरकसंहिता, शारीरस्थान २।४६।
हितकर आहार र विहार गर्ने, विचारपूर्वक काम गर्ने, रूप रस गन्ध स्पर्श र शब्दरूप विषयहरूमा आसक्ति नराख्ने, दानी, समदर्शी, सत्यपरायण, क्षमावान् र आफन्त गुरुजनको सेवा गर्ने व्यक्ति निरोगी हुन्छ।
उपर्युक्त प्रकारका अमृतमय उपदेशले भरिएको आयुर्वेदशास्त्रमा आफ्नो धर्म, अर्थ र सुखको साधनारूप आयु बढाउन चाहने सबैले परम आदर गरी त्यसबाट लाभ लिनुपर्छ। आयुर्वेदशास्त्रबाट छानेर संकलन गरेर यस्ता व्यवहारोपयोगी श्लोकहरू अर्थसहित सानै कक्षादेखि विज्ञान तथा स्वास्थ्यशिक्षाका पाठ्यपुस्तकमा समावेश गरेर पढाउनुपर्ने आवश्यकता पनि अनुभव हुन्छ। यसबाट हाम्रा भावी सन्ततिले सरल र सुलभ तरिकाबाट स्वस्थ र सुखी हुने दिव्य ज्ञान पाउन सक्नेछन्।