
काठमाडौँ – माधव नेपालसँग रहेकाहरुलाई एमालेमै राख्न अध्यक्ष केपी शर्मा ओलीले गरेको दश बुँदे सहमति गण्डकी प्रदेशमा समेत लागू भएको छ।
गण्डकीमा ओली पक्षको एकल वर्चश्व भए पनि जिम्मेवारी हेरफेर भएको थियो। सबै जिल्ला कमिटी पनि संस्थापन पक्षकै नेतृत्व थियो। अब जेठ २ अघिको प्रदेश संयोजक किरण गुरुङ फर्किएका छन्।
जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङको अध्यक्षतामा बसेको बैठकमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नै पूरानो संरचना व्युँताउने निर्णय भएसँगै उनी इन्चार्जको जिम्मेवारीबाट हटेका छन्।
यस्तै एमालेले थप ३०० सय जनालाई प्रदेश कमिटीमा लगेको छ। यसअघिका १०९ जना सदस्य गरी अब एमाले गण्डकी प्रदेशमा ४०९ सदस्यीय प्रदेश कमिटी भएको छ। त्यस्तै ५३ जना थपेर ६७ सदस्यीय सचिवालय गठन गरिएको छ।
यसरी प्रदेश कमिटीमा तीन गुणा सदस्य थप्नु र समस्या नभए पनि दश बुँदे कार्यान्वयन गर्नुका पछाडि प्रदेशमा एकीकृत समाजवादीको संगठन विस्तारलाई निस्तेज पार्नु रहेको एक नेताले दाबी गरे।