
काठमाडौँ – प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा नेकपा एमाले र बाँकी दलबीच विवाद भएपछि सिन्धुलीको सिन्धुलीमाढीमा बुधबार हुने भनिएको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ।
सिन्धुलीमाढीको केही क्षेत्रमा बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। झडप हुने अवस्था देखिएपछि प्रशासनले बुधबार बिहान ७ देखि ११ बजेसम्म सर्वदलीय छलफल राखे पनि सालिक अनावरण कार्यक्रम स्थगत गर्ने निर्णय भएको थियो।
सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले सहमतिपछि सालिक अनावरणको कार्यक्रम स्थगन गरिएको बताए। ‘झडपको अवस्था सृजना हुने देखिएपछि हामीले सहमतिका लागि प्रयास गरेका थियौँ। अरु कुनै समय पारेर अनावरण गर्ने निर्णय भयो’, सिटौलाले भने।
कमलामाई नगरपालिकाले पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएर सालिक अनावरण गर्ने तयारी गरेको थियो। तर बाँकी दलहरुले जिल्लामा हुने सम्पूर्ण कार्यक्रममा सर्वदलीय सहमतिका आधारमा प्रमुख अतिथि बनाइने गरेको स्मरण गराउँदै यसपटक कमलामाई नगरपालिकाले एकलौटी निर्णय गरेकोप्रति आपत्ति जनाएका थिए। नगरपालिकाको कार्यक्रममा प्रमुख अतिथि कसलाई बोलाउने भन्ने अधिकार स्वयं नगरपालिकालाई हुने कमलामाई नगरपालिकाका मेयरसहितका अधिकारीको जिकिर थियो।
कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री एमालेबाट निर्वाचित भएका हुन्।