
ललितपुर – पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ।
हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आज साँझ सो नृत्य प्रदर्शन गर्न लागिएको हो। ‘बाथः प्याखँ–कौला खिचा’ अर्थात् बाठा तीन भाइले एक ब्राह्मणलाई सत्य भएर पनि भ्रमित बनाउन सफल भएको विषयमा आधारित नृत्य मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए।
उनले भने, ‘यस कथामा सडकको तीन कुनामा छरिएर बसेका तीन बाठा मानिसले एक ब्राह्मणले दानमा पाएको बोका ल्याएको देख्छन्उ. नीहरुले त्यस बोका आफूहरुले खाने जुक्तिअनुरुप ‘ब्राह्मणले कुकुर ल्याए। ब्राह्मणले कुकुर ल्याए।’ भनेर कराउँछन्। ब्राह्मणले, ‘यो कुकुर होइन। यो त बोका हो’, भन्छन्। ती तीन व्यक्तिले ‘होइन, यो कुकुर नै हो।’ भनेर जिद्धी गरेपछि ब्राह्मणले पक्कै यो कुकुर रहेछ भन्दै बाटैमा छाडेर जान्छन्। सो बोका ती तीनै व्यक्तिले मिलेर खान्छन्। यदि धेरै मानिस मिलेर झुटो बोले भने सत्यलाई पनि असत्य बनाउन सकिन्छ भन्ने कुरा नृत्य र नाटकमार्फत दर्शाउन खोजिएको उनको भनाइ थियो।
यसैगरी बुधबार राति ‘सुदामा प्याखँ’ अनि बिहीबार ‘बाथः प्याखँ–च्वले खुदाँ दाँ खुदाँ’ नाच ठूलो हर्ष र भव्यताका साथ सम्पन्न गरिएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए। विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए।
यस गरिमायम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ। कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटेर शान्ति र सु–व्यवस्था कायम रहने विश्वास गरिन्छ।
कात्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो। सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु ठूलो विशेषता रहेको छ। कात्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शन गरिएको थियो। सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिनसम्म सञ्चालन गरिएको जानकार बताउँछन्।
यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई पछि थपेर २७ दिन सञ्चालन गरेकाे कुरा पनि सुन्नमा आउँछ। मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो।