
ललितपुर – पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण मन्दिर परिसरको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको चौथो दिन युद्धकला मञ्चन हुने भएको छ।
प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गर्न लागिएको हो। सो नाचमार्फत आज महादेव अनि कृष्णको युद्ध हुनाका साथै शितज्वर तथा विष्मज्वरको युद्धसमेत मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए। उनले भने, ‘यस नाच उषाहरण नृत्यअन्तर्गत पर्दछ। यो वर्ष उषाहरण प्रदर्शन नगरिने भएकाले यसैमा पर्ने युद्धको केही अंश देखाउने छाैं।’
यो वर्षको नाचमा ११ देखि ७५ वर्ष उमेर समूहका मानिसले भाग लिएकाे र लिने भएकाे समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए। ६–६ वर्षमा कलाकार अनि लत्ताकपडा र बिग्रिएका गरगहना फेर्ने चलनअनुसार आउँदो वर्षको कात्तिक नाच प्रदर्शन गरी सो फेरिने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताए।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। लामो समयदेखि चलिआएको नाच जे जस्तो परिस्थिति सिर्जना भए पनि मञ्चन गरेरै छाड्नुपर्छ भन्ने उद्देश्यका साथ गत वर्ष मुलुकमा कोरोना महामारी बढ्दा बढ्दै पनि दुई दिन भए पनि सफल रुपमा प्रदर्शन गराएरै छाडेको पाटन वडा नं १२ निवासी राजेश ताम्राकारले बताए। उनले भने, ‘विश्वकै लामो नाट्य महोत्सव सदैव जीवन्त रहोस् भन्ने हामी चाहन्छाैँ।’
कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटी शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ। कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो।
यो वर्ष सुदामा प्याखँ, बाथः प्याखँ–च्वले सुदाँ दाँ खुदाँ, बाथः प्याखँ–कौला खिचा आदि मञ्चन गरिइसकेको र बाँकी युद्धकला, देवी प्याखँ, जल शयण–मधु–कैटव वध, बराह अवतार–हीरण्याक्ष वध र नृसिंह अवतार–हीरण्यकश्यपु वध नृत्य आठ दिन प्रदर्शन गरिने समितिका प्रचार विभाग संयोजक सञ्जय शर्मा राजोपाध्यायले सुनाए।