बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढ्याे

बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढ्याे
+
-

दमौली – तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ। केही दिनयता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो। साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले बताएका छन्।

चितुवाले बुधबार राति बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी मारेको छ। ‘तीन–चार दिनदेखि चितुवा हिँडेको स्थानीयले भनिरहेका थिए, गोठमै पसेर बाच्छीलाई आक्रमण गरेर मार्‍यो,’ उनले भने।

उनले यसबारे आफूले डिभिजन वन कार्यालय तनहुँमा जानकारी गराएको बताए। उनका अनुसार गाईको बाच्छी चितुवाले आक्रमण गरेपछि वन कार्यालयले ३० हजार रुपैयाँ राहत दिने भएको छ।

असोज अन्तिम साता बन्दीपुर–५ बाहुनभञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया स्वीकृति थापाको मृत्यु भएको थियो। यसपछि बन्दीपुरमा चितुवाको त्रास बढेको भन्दै सो कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

बन्दीपुर–१, ४ र ५ का क्षेत्रमा चितुवा देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै वन कार्यालय बन्दीपुरका प्रमुख सुरेश भुजेलले जानकारी दिए।

वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको वासस्थान पनि बढेको र अहिलेको समय प्रजननको भएकाले चितुवाले मानिस र अन्य जीव जनावर आक्रमण गर्नसक्ने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए। चितुवाको आक्रमणबाट बच्न सचेत र सतर्क रहन स्थानीयवासीलाई आग्रह गरिएको उनले बताए। ‘केही चितुवा बच्चा जन्माएपछि आहाराको खोजीमा हिँड्ने भएकाले यो समयमा चितुवासँग सतर्क रहनुपर्छ,’ उनले भने।

जंगल फँडानी गरेर बस्ती बसाल्ने, जंगली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा छ। ‘तनहुँमा विशेष गरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायत विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ,’ उनले भने, ‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ।’

वनजंगलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ। चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको उनले बताए।

कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्नेलगायत विषयलाई ध्यान दिनुपर्ने कुरा उपभोक्तालाई सचेत गराउँदै आएको छ। ‘वनजंगलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि आक्रमण गर्न सक्छ,’ उनले भने, ‘त्यसका लागि जंगलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ।’

मृग वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा आहाराको अभाव भई चितुवाले मानिसको सिकार गर्ने गरेको काफ्लेले बताए। ‘वन्यजन्तुको चोरी–सिकार हुनबाट जोगाउन सबैले सहयोग गर्नुपर्छ,’ उनले भने।

०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ जना बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष