एउटा कुकुरप्रेमीको कथाव्यथा

कुकुरलाई दुई दिनमा ‘चेन्ज’ गर्न सकिन्छ, तर मान्छेको दिमाग कहिल्यै ‘चेन्ज’ हुँदैन (भिडियो)

+
-

‘आफ्ना सन्तानजसरी नै निकै मायाले पालिएका कुकुरहरुलाई जब रोग लाग्छ, तब मानिसहरु एक मिनेट पनि नसोची सडकमा बेवारिसे अवस्थामा फाल्न पनि पछि पर्दैनन्। मानिस बुद्धि, विवेक र चेतनाले अब्बल मानिन्छ, तर पनि मानिसका केही हर्कतहरु भने गर्व गर्न लायक हुँदैनन्’, बोल्दाबोल्दै अवरुद्ध भइन् उनी।

उनी अर्थात ५५ वर्षीया रोमी लामा, जसले विगत २५–३० वर्षअघिदेखि सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरहरुको स्याहार गर्दै आएकी छन्। उनी दुर्घटनाबाट घाइते भएका र  बिरामी अवस्थामा रहेका कुकुरको उद्धार गर्छिन्।

हालसम्म तीन हजारभन्दा बढी कुकरको उद्धार गरिसकेकी रोमीको ‘नेपाल स्ट्रिट डग लभर’ नामक संस्था छ। उनी यस संस्थाकी संस्थापक हुन्।

काठमाडौँको इन्द्रदह नजिकै सुवेदी गाउँबाट केही तल जङ्गल छेउमा लिजमा लिएको जग्गामा एउटा सेल्टर निर्माण गरी कुकुरहरुलाई साथमा लिएर बसेकी छन् रोमी। यो कामले सन्तुष्टि मिल्छ उनलाई। आफ्नो जीवनको ऊर्जाशील समय कुकुरप्रति समर्पित गरेकी छन्।

जग्गाको उनले वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ। १० वर्षको लागि लिएको जग्गामा उनले चार वर्ष बिताइसकेकी छन्।  एक साताअघि मध्याह्न करिब १२ बजेतिर हामी त्यहाँ पुग्दा रोमी कुकुरका ब्लाङ्केट सुकाउन व्यस्त थिइन्।

बिहान उठेर कुकुरहरु छोड्नु, सेल्टर सफा गर्नु, कुकुरका ब्लाङ्केट धुनु, त्यसपछि उनीहरुका लागि खाना तयार पार्नु, कुकुरले खाना खाएका भाँडा सफा गर्नु वर्षौँदेखि रोमीको दैनिकी बनिरहेको छ। उनी यसमै अभ्यस्त भइसकिन्।

बिहानको चिसोमा बुढा कुकुरहरुलाई खोकी लाग्ने उनी बताउँछिन्। त्यसैले अलि घाम लागेपछि मात्र बाहिर निकाल्छिन्। बिहान ८ बजे र दिउँसो ३ बजे उनीहरुलाई खाना दिनुपर्छ। दिउँसो भने बिस्कुट खान्छन्।

कुकुरहरुलाई उनी आफ्नो परिवार मान्छिन्। कुकुरको उद्धारको लागि एउटा एम्बुलेन्ससमेत लिएकी छन्। कुकुर मरेपछि रोमीले खाल्डो खनेर अन्तिम संस्कार गर्छिन्।

कुकुर पनि डिप्रेसनमा जाने रोमी बताउँछिन्। ठमेलका एकजनाले ३ वर्षअघि एउटा कुकुर त्यहाँ छोडेर गएका रहेछन्। अझै पनि त्यो कुकुर आफ्नो मालिक आउँछ की भनेर कुनामा बसेर हेर्ने उनी बताउँछिन्।

रोमी भन्छिन्, ‘अझै पनि कति कुकुर छन्, जुन आफ्नो मालिकहरुको बाटो कुर्छन्।’

त्यसैले रोमीले अहिले कुकुर ‘एडप्ट’ गराउन बन्द गरेकी छन्। ‘पहिला एडप्ट गराउँथेँ, तर अहिले गराउँदिनँ। मेरो कुकुर कसैलाई पनि दिन्नँ। किनभने मसँग अट्याच भइसकेको हुन्छ,’ उनले भनिन्, ‘मेरो एउटा कुकुर जर्मनी एडप्ट गरेर लगेको थियो। त्यो कुकुरले अझै बिर्सेको रैनछ। मेरो छोरी गत वर्ष जर्मनी जाँदा चिन्यो उसले।’

जस्तै नराम्रो मालिक भए पनि कुकुरहरुले आफ्नो घर छोड्न नमान्ने उनको भनाइ छ।

कुकुर मात्र हैन उनले त्यहाँ एउटा बुढी गोरुसमेत पालेकी छन्, जसको नाम शंकर राखेकी छन्। उनले शंकरलाई ल्याएको ३ वर्ष भयो। उनी बसेको सेल्टर नजिकै कसैले वनमा बाँधेर छोडिदिएको थियो, उनले माया लागेर ल्याइन् र आफैसँग राखिन्।

०००

यहाँको सबै काम उनी आफैले हेर्छिन्। नितान्त कुकुरको मायामा डुबेकी रोमीलाई आर्थिक चुनौती पनि छ। अहिलेसम्म यो सबै उनको घरको भाडाले चलिरहेको थियो। तर लकडाउनपछि आर्थिक रुपमा अलि गाह्रो भएकाले उनले यसपालि कुकुरहरुलाई हालसम्म लुगा किन्न सकेकी छैनन्।

रोमीको कमाइको स्रोत अहिले छैन। केहीले उनको काम देखेर आर्थिक सहयोग गर्छन्। कसैले आफै सहयोग गर्दा लिन्छिन् तर हात थापेर माग्दिनन्।

अझै पनि जनावरप्रति मान्छेको सोच परिवर्तन भइनसकेको रोमी बताउँछिन्। बाटो हिँड्ने कतिपय मानिसले त्यहाँका कुकुरलाई ढुङ्गाले हान्छन्। ‘हामी एनिमल लभर्सलाई कहिले पनि सुख छैन,’ उनी भन्छिन्, ‘म कुनैपनि जनावरलाई दुई दिनमा परिवर्तन गर्न सक्छु। तर मान्छेको दिमाग कहिले पनि चेन्ज गर्न सकिँदैन।’

कसरी लगाब भयो उनलाई कुकुरप्रति?
रोमी २२ वर्षकी थिइन्, जतिबेला उनका श्रीमान्‌को दुर्घटनामा मृत्यु भयो। त्यतिबेला उनको गर्भमा ५ महिनाकी छोरी थिइन्।

जब उनले छोरीलाई जन्म दिइन्, थापाथलीस्थित प्रसुति गृहमा उनलाई भेट्न पुगेका देवरले छोरी जन्मिएको भनेपछि मुखमा थुकेर फर्किए। उनको परिवारमा सम्पत्तिको नाममा झगडा हुन थाल्यो।

उनी भन्छिन्, ‘एक्लो महिलाले कति कुरा खेप्नु? त्यसपछि मैले घर छोड्दिएँ। माइती जान पनि मन लागेन।’

घर छोडेपछि उनको जीवनमा नयाँ मोड आयो। विरक्त भएर एकदिन पशुपति आर्यघाट पुगिन् र टोलाएर बसिन्। ११ महिनाको बच्चा च्यापेर त्यहाँ पुग्दा उनलाई के भयो? भनेर कसैले सोधेन। एउटा कुकुर उनको छेउमै आएर टाँसिएर बस्यो, माया लाग्दो गरी।

कुकुर त्यहाँ बस्दा उनलाई कसैले सहारा दिएको जस्तो लाग्यो। मान्छेले बेवास्ता गरेको ठाउँमा जनावरले माया गर्‍यो। उनको जिन्दगीको संघर्ष तथा कुकुरप्रतिको माया त्यहीँबाट सुरु भएको हो।

०००

घर छोडेर उनी पुतलीसडकमा व्यवसाय गर्न निक्लिइन् र रेस्टुरेन्ट खोलिन्। उनको वरपर एउटा माइकल नामको कुकुर जहिले पनि आउँथ्यो। उनले त्यसलाई दैनिक खाना खुवाउँथिन्। तर माइकल धेरै भुक्यो भनेर छिमेकीहरुले कुटेर एकदिन खुट्टा भाँचिदिए।

अनि उनले डिल्लीबजारको आफ्नै घरमा ल्याएर कुकुर राख्न थालिन्। त्यतिबेलासम्म उनले बाटोमै खुवाउँथिन्, बाटोमै उपचार गर्थिन् कुकुरहरुको। पछि गम्भीर बिरामी बेवारिसे कुकुरलाई घरमा ल्याउन थालिन्।

घरमा एउटा कोठा कुकुरलाई नै भनेर छुट्याएकी थिइन्। त्यसक्रममा हरेक दिनजसो छिमेकका मान्छेसँग उनको भनाभन हुन्थ्यो।

खाना खाएपछि कुकुर आँगनभरि सुत्थे। कुकुर गनायो, रोग सर्छ भनेर उनलाई छिमेकीहरुले तथानाम गाली गर्थे।

उनी भन्छिन्, ‘मै लगभग ३० वर्ष जति उमेर कुकुरसँग बिताएँ। मलाई रोग छैन भने मेरो घरमा पालेको कुकुरले पल्लो घरमा बसेका मान्छेलाई कसरी रोग सर्छ?’

दिनहुँजसो उनको झगडा हुन थाल्यो। कुकुरलाई कुट्ने, कहिले तातो पानी खनाइदिने गर्न थाले मानिसहरु। त्यसपछि उनले डिल्लीबजार छाडिन्।

उनले थपिन्, ‘मैले डिल्लीबजार मेरै खुशीले छोडेको हो। ठाउँ सानो भएर छोडेको हो। नत्र म अरुले धम्काएको भरमा छोड्दिन थिएँ।’

०००

उनका अनुसार २०५४ सालसम्म महानगरले व्यापक रुपमा विषादी खुवाएर कुकुरलाई मार्थ्यो। त्यसको विरोधमा उनले आवाज पनि उठाइन्। तर त्यसको बदलामा उनले कुकुरबाट रोग लाग्ने भएकाले कुकुरलाई मार्नैपर्ने उत्तर पाइन्।

उनी भन्छिन्, ‘हरेक प्राणीको बाँच्ने अधिकार छ। प्रकृतिले दिएको कुरा हो नि। त्यसलाई मार्नेभन्दा पनि कसरी कन्ट्रोल गर्न सकिन्छ भनेर पो सोच्ने हो त।’

त्यतिबेला भारतमा बन्ध्याकरण सुरु भइसकेको थियो। दिल्लीमा मेनुका गान्धीले ‘सञ्जय गान्धी एनिमल केयर सेन्टर’ खोलेकी थिइन्। उनी त्यहाँ २०५५ सालतिर भिजिट गर्न पुगिन्।

नेपालमा सन् २००० मा ‘क्याट सेन्टर’ आयो। पुतलीसडकका कुकुरलाई उनी आफ्नो मोटरसाइलमा हालेर त्यहाँ पुर्‍याउँछिन्।  उनका अनुसार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य त्यो संस्थासँग आवद्ध हुँदासम्म त राम्रै भएको थियो। तर पछि कलाकारद्वयले छोडेपछि त्यहाँ पनि राजनीति हुन थाल्यो। आर्थिक अभाव हुन थाल्यो।

उनी भन्छिन्, ‘एनिमल्सको नाममा पनि भ्रष्टाचार हुँदो रहेछ भनेर मैले विस्तार थाहा पाएँ।’

त्यसपछि उनी चोभारस्थित ‘एनिमल्स नेपाल’ जान थालिन्। उनी त्यतिबेला रेष्टुरेन्ट गर्ने भएर सानोतिनो खर्च गर्न समस्या थिएन। त्यसैले कुकुरलाई ट्याक्सीमा हालेर पुर्‍याउँथिन्।

उनी थप्छिन्, ‘जुन ठाउँमा ट्रिटमेन्ट सेन्टर भनेर लग्यो, त्यो ठाउँमा लगेर पनि कुकुर सर्भाइभ हुँदैन भने त्यो ठाउँमा लग्नु त समय र पैसा दुबै व्यर्थ भएको जस्तो लाग्यो।’

त्यसपछि उनले सन् २०११ तिर डा.सुशीलकुमार पौडेलसँग समन्वय गर्न थालिन्। डा. पौडेलको जनावरप्रतिको झुकाव र उपचारप्रति भने उनी सन्तुष्ट छिन् अहिले।

०००

जनावरको पनि बाँच्ने अधिकार छ भन्ने मिसनमा लागेकी छन् उनी। अबको उनको योजना भनेको बन्ध्याकरण हो। वर्षमा ३ पटक क्याम्प गर्न चाहन्छिन्, जसले गर्दा सडकमा बेवारिसे कुकुर नभेटिऊन्।

रोमीका अनुसार अहिले काठमाडौँका केही नगरपालिकाहरुले बन्ध्याकरण सुरु गरिसकेका छन्  तर सबैतिर सुरु भएको छैन।

त्यसैले अब रोमी धेरै कुकुरको उद्धार गरेर आफूलाई व्यस्त राख्न चाहन्नन्। उनको उद्धारले मात्र उनको मिसन पूरा हुन सकेको छैन। आफू सीमित कुकुरमा व्यस्त भएर अरु काम गर्न नसकेको उनको भनाइ छ।

उनी थप्छिन्, ‘डग फ्री त जति गरेपनि हुँदैन। किनभने यिनीहरुको उमेर पनि १०—१२ वर्ष हो। एउटा फिमेल कुकुर बाटोमा आउने बित्तिकै उसले ६—७ वटा जन्माउँछ। झन् मानिसहरुले कुकुरलाई केही रोग लाग्नेबित्तिकै सडकमा लगेर छोडिदिन्छन्।’

कतिपय मानिसहरु उनले गरिरहेको काममा औँलासमेत उठाउँछन्। उनी भन्छिन्, ‘कतिपय मान्छेले कसैले आफ्नो खल्तीबाट पैसा खर्च गरेर काम गर्छ पैसा नआए? डलर आउँछ भन्छन्। एकदिन यति धेरै डलर आओस् कि काठमाडौँका गाई, कुकुर सबै उठाउन सकूँ।’

उनी सडकमा बेवारिसे छाड्ने भए कुकुर नपाल्न सुझाव दिन्छिन्। उनी भन्छिन्, ‘पाल्ने नै हो भने सडकमा अलपत्र नछोड्नुस्। पीडा सबैलाई त्यत्तिकै हुन्छ, दुःख सबैलाई पर्छ। जनावरको पनि पीडा बुझ्नुपर्छ।’

‘आफ्नो घरको कुकुरहरुलाईं बन्ध्याकरण गर्दिनु होला। बरु एक महिना चिया छोडिदिनुस् न। कति मान्छेले जाँड, रक्सी चुरोटमा कति पैसा खर्च गर्छ तर त्यो पैसाले कुकुरलाई अप्रेसन गर्दिँदा समाज पनि सुन्दर, सफा हुन्छ। उदाहरणीय बन्न चाहनुहुन्छ भने त्यति गर्न सक्नुहुन्छ,’ उनले थपिन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’