
आफ्नो मात्रै दाइजो ठान्ने ताज गयो कता
सानो भाइले उछिट्याउँदा आज गयो कता।।
मौका पर्दा जन्मथात बिर्सि छिनाझपट गर्ने
सिकार समाइ एक्लै लुछ्ने बाज गयो कता।।
तिनकै थियो हालीमुहाली मिलीभगत समेत
जीवनभर लगाए लगानी ब्याज गयो कता।।
अरुको नाम साटिसटाइ थिति आउँछ भने
घोक्रो फुलाइ ढ्वाङ फुक्दा काज गयो कता।।
सेतो पार्थे दौरा सुरुवाल चाल चलन कालो
साबुन घोट्दै जोडले मिचे गाज गयो कता।।
गाउँघर नेता जाँदा ‘चोर’ आयो भन्छन् अरे
ताली बजाइ हो हो भन्दा लाज गयो कता।।