काठमाडौँ – नुहाउने क्रममा बाथरुममा बेहोस अवस्थामा भेटिएका बागबजारस्थित काठमाडौँ मोडल कलेज (केएमसी) का एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ।
कलेजको लापरबाहीका कारण मृत्यु भएको भन्दै विद्यार्थी र आफन्तले मंगलबार आन्दोलन गरिरहेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले अहिले दुवै पक्षबीच छलफल भइरहेको बताए।
रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनी सोमबार बाथरुममा बेहोस अवस्थामा फेला परेका थिए। काठमाडौँ मोडल हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो। सहनी कक्षा १२ मा अध्ययनरत थिए।
काठमाडाैँ प्रहरी प्रवक्ता मैनालीले कलेज व्यवस्थापनले सहनी गिजरमा नुहाइरहेको अवस्थामा बेहोस भएको जानकारी दिएको बताए। जाडो याममा गिजरमा नुहाउने क्रममा मृत्यु भएका घटना यसअघि पनि धेरैपटक भएका थिए।
बाथरुममा बाहिरबाट हावा प्रवेश नगर्ने अवस्थामा गिजरमा नुहाए यस्ता घटना हुन सक्ने बताइन्छ।