काठमाडौँ– क्रिश्चियनहरूको महान् चाड क्रिसमस आउन दुई दिन बाँकी छ। क्रिसमस उनीहरूका लागि विशेष पर्व भए पनि हिन्दू धर्मावलम्बीसमेत रमाउने तथा घुम्न जाने गर्छन्। क्रिसमसका दिन बिदा हुने भएकाले पनि उनीहरू घुम्ने तथा रमाइलो गर्न सहभागी हुन्छन्। तपाईंहरू पनि घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने यी ठाउँ तपाईंका लागि उपयुक्त हुन सक्छन्।
नगरकोट
केही दिनको बिदाका लागि घुम्न जाने भन्नेबित्तिकै धेरैको मानसपटलमा नगरकोटको नाम अगाडि आउँछ। घुम्नका लागि उक्त ठाउँ उपयुक्त गन्तव्य मानिन्छ। नगरकोट निकै रमणीय स्थलका रूपमा परिचित छ। समुद्री सतहदेखि २ हजार ७५ मिटरको उचाइमा रहेको नगरकोट काठमाडौँबाट ३२ किमि उत्तर–पूर्वमा र भक्तपुरबाट २० किमि पूर्वमा अवस्थित छ।
मौसम सफा भएका बेला मनमोहक हिमालयका चुचुराका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य पनि अवलोकन गर्न सकिन्छ।
यसका साथै यहाँबाट धौलागिरि, कञ्चनजंघा हिमशृंखलादेखि मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, चोयु, ल्होत्से, मकालु हिमालका चुचुरा देख्न सकिन्छ।
नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकन लागि पनि निकै प्रसिद्ध छ।
नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्ट उपलब्ध छन्। यसैगरी, नगरकोटमा महादेव कुण्ड, महांकाल, कालीदेवी, जालपादेवी र गीता मन्दिर अवस्थित छ।
पोखरा
पोखरा पनि घुम्नका लागि धेरैको रोजाइमा पर्छ। उपत्यकाबाट दूरी कम भएको र पर्यटकको रोजाइमा पर्ने पोखरामा अवस्थित फेवा ताल, बेगनास ताल, रुपाताल, दिपाङ ताल, खास्टे ताल, मैदी ताल, न्युरेनी ताल, गुदे ताल, कमलपोखरी ताल र कश्यप ताल (ठूली पोखरी) छन् भनेसेती नदी (सेती खोला), काहु खोला, विजयपुर खोला, फुर्से खोला, काली खोला, यामदी खोला, मार्दी खोला, हर्पन खोला, हदी खोला पनि उत्तिकै मनमोहक छन्।
पोखरमा विन्ध्यवासिनी मन्दिर, धर्मशाला, बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण, भद्रकाली, शोभाभगवती, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर, शिवहरि मन्दिर तथा नमोबुद्ध गुम्बाजस्ता ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल छन्।
यस्तै, चमेरे गुफा, पाताले छाँगो, महेन्द्र गुफा, गुप्तेश्वर गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थल हुन्।
फेवातालमा पर्ने माछापुच्छ्रे हिमालको छाया तथा बेगनासमा गरिने डुंगा सयर स्मरणयोग्य छन्। साथै, अन्नपूर्ण पदमार्ग पनि यहीँबाट सुरु हुन्छ।
कालिञ्चोक

हिउँले ढाकिएको कालिन्चोक क्षेत्र। तस्बिर : प्रतिभा चन्द/देश सञ्चार
कालिञ्चोक दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिब १५ किलोमिटर उत्तर कालिञ्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाइमा छ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत ७ भगवती दिदीबहिनी हुन् भन्ने किम्बदन्ती छ। कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमशृंखला र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। कालिञ्चोक चरिकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ।
चरिकोटदेखि करिब १७ किमि दूरीमा रहेको कुरी बजारसम्म कच्ची मोटरबाटो बनेको छ। उक्त बाटोमा जिप र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि, यस बाटोमा नियमित सार्वजनिक सवारी साधन भने उपलब्ध छैन।
कुरी बजारदेखि उकालो करिब १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ।
चन्द्रागिरि
धार्मिक र ऐतिहासिक घटनाका कारण चन्द्रागिरि पर्यटकीय गन्तव्यका लागि उपयुक्त मानिन्छ। र, उपत्यकाबाट नजिक पर्ने चन्द्रागिरि घुम्न जानेको घुइँचो लाग्छ।
धार्मिक तथा ऐतिहासिक महत्त्वले चन्द्रागिरि डाँडोमा पुग्नका लागि केबलकारको व्यवस्था गरिएको छ। समुद्र सतहबाट २,५५१ मिटर उचाइमा रहेको चन्द्रागिरिमा हिन्दू धार्मिक मान्यताअनुसार भालेश्वर महादेवको पूजा गर्न जाने गर्छन्।
चन्द्रागिरिबाट काठमाडौं उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको अर्को ऐतिहासिक सन्दर्भ छ।
सेतो गुम्बा
काठमाडौंको रामकोट–८ डाँडागाउँमा रहेको सेतो गुम्बा शान्त वातावरण भएको ह्वाइट गुम्बा जोडीहरूका लागि मन भुलाउने उपयुक्त स्थान हो। डुक अमिताभा माउन्टेन नामकरण गरिएको ह्वाइट अर्थात् सेतो गुम्बा धेरै प्रेमजोडीले रोज्ने गर्छन्। यहाँबाट काठमाडौं उपत्यका अवलोकन गर्न सकिन्छ। स्वयम्भू वा सीतापाइलाबाट डेढ घण्टा हिँडेर गुम्बामा पुग्न सकिन्छ।

भर्खरै
लोकप्रिय






































































































































































































