
गफैगफले जोडेका छन् पुल थरी थरी
भोटो कछाड खाली कतै तुल थरी थरी।।
उपचार हुन्छ भन्छन् रोगभोक सबको
कोखा छेउ किन चल्छ शूल थरी थरी।।
उस्ले उस्लाई थिचेका च्यापिएका बीचमा
माला एउटै बन्छ भन्छन् फूल थरी थरी।।
ठाउँ ठाउँको गुण फरक पानी पानी पनि
उस्तै छन् खोला खोल्सा मूल थरी थरी।।
लगाम बिना भट्टयाउने भाषण गर्दाखेरि
मुण्ड मुण्ड बुद्धि भन्छन् कुल थरी थरी।।
खोलानाला पास भए आशैआशले गर्दा
घण्टाकर्ण आउँछ भन्छन् भुल थरी थरी।।
भित्री गाँठो बुझ्नु छैन राशन खानतिर
गाउँघर सहर कुदेका छन् हुल थरी थरी।।