
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ सुडालस्थित श्री इँटाभट्टाको झ्याउलीमा सोमबार बिहान एक भारतीय मजदुर मृत फेला परेका छन्।
महानगरीय प्रहरी भक्तपुरका अनुसार भारत घर भई हाल श्री इँट्टाभट्टामा काम गर्ने ३२ वर्षीय सञ्जय पासवानको मृत्यु भएको हो। उनी बिहान झ्याउलीमा अचेत अवस्थामा भेटिएका थिए। अचेत अवस्थामा भेटिएका उनको भक्तपुर सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा अनुसन्धानअधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको छ।
यसैबीच चाँगुनारायण नपा– ६ नगरकोट बाघमारा डाँडा टोलमा गएराति एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।
उनका अनुसार स्थानीय ४८ वर्षीय पिङगाई तामाङ आफ्नै घरको जस्ताले छाएको गोठको दलिनको काठमा नाम्लोको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको हो।
उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ। घटनास्थलबारे अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।