
भक्तपुर – भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ चारदोबाटोमा नयाँठिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको अनियन्त्रित कारले ट्याक्सी र बसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
बुधबार राति २०ः४२ बजे आफै अनियन्त्रित भई सडक बीच भागमा रहेको डिभाइडरमा ठक्कर खाएको उक्त कारले एउटै दिशामा ट्याक्सी र बसलाई ठक्कर दिएको हो। उक्त दुर्घटनामा परी कारमा सवार धनुषाको जनकपुर उपमहानगरपालिका १५ घर भई हाल काठमाडौँ शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार दुर्घटनामा परी घाइते भएका साहलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगिएको थियो। नागरिकमै उपचारको क्रममा साहको मृत्यु भएको उनले बताए।
दुर्घटनामा परेको बा ४ च ५७६ नम्बरको कारका चालक सिन्धुलीको कमलामाई नगरपालिका १२ बस्ने २५ वर्षीय सविन घिसिङको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।
उक्त कारको ठक्करले ट्याक्सीका चालक रामेछापको मन्थली नगरपालिका १२ घर भई हाल ललितपुरको टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री घाइते भएका थिए। घाइते चालक खत्री सामान्य उपचारपश्चात डिस्चार्ज भएको भक्तपुर प्रहरीले जनाएको छ।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।