
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका– १ दुवाकोट आइतबार बिहानै एक युवकको झुण्डिएर मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय रमेश बुढाथोकीको जस्ताको टहरामा सोलुखुम्बु लिखुपिके गाउँपालिका घर भएका ३५ वर्षीय मोहन बस्नेत आइतबार बिहानै झुण्डिएको अवस्थामा फेला परेका हुन्।
बस्नेत टहरामा फलामको पाइपमा नाम्लोको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
बिहानै बस्नेत झुण्डिएको अवस्था रहेको भन्ने सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको उनले बताए। उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान कार्य भइरहेको छ।
शुक्रबारमात्रै भक्तपुर नगरपालिका २ व्यासीमा १६ वर्षीया युवती आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। यस वर्ष एसईई परीक्षा दिने तयारीमा रहेकी १६ वर्षीया जेनिशा कोजू आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।