खण्डहर कोइलाबास, कहिले पाउँछ पुनर्जीवन? (फाेटाे फिचरसहित)

खण्डहर कोइलाबास, कहिले पाउँछ पुनर्जीवन? (फाेटाे फिचरसहित)
+
-

दाङ – कोइलाबास बजार झिलिमिली हुन्थ्यो। बिहानै बजार लाग्थ्यो। खोलाभरि घोडा र राँगा हुन्थे। भारतबाट चिनियाँ सामान किन्न ग्राहक नेपाल आउँथे। हात्तीछाप चप्पल, टर्च लाइट, तेरलिनको कपडा, खासाको कपडा, साबुन भारतीयहरुको पहिलो रोजाइको सामान हुन्थ्यो। नेपालीहरु भने नून, तेल, कपडा, भाँडाकुँडा, सुइयो किन्नको लागि कोइलाबास पुग्थे।

स्थानीय पत्रकार राधेश्याम गुप्ताको परिवारले कोइलाबासमा किराना पसल थापेको थियो। पसलमा राम्रो कारोबार हुन्थ्यो। ग्राहकको चाहनाअनुसार पसलमा सामान फेरिन्थ्यो। किराना पसल हुँदै कपडा अनि भाँडाकुँडा पनि राखियो। पूर्व–पश्चिम राजमार्ग नबन्दासम्म खुब चल्यो कोइलाबास। राजमार्ग बनेपछि कोइलाबासमा घर बनाएका गुप्ताको परिवार लमही बसाई सर्‍यो।

‘मेरो जन्म त कोइलाबासमै भयो। दुकान थियो। बुवाले कारोबार गर्नुहुन्थ्यो’, गुप्ताले विगत सम्झँदै भने, ‘२०३७ सालपछि कोइलाबास सुक्न थाल्यो। हामीहरु पनि कोइलाबास छोडेर लमही आयौं।’

कुनै समय निकै चर्चामा थियो कोइलाबास। अहिले पनि कोइलाबासको चर्चा त छ। तर, व्यापारिक केन्द्रको रुपमा होइन ‘खण्डहर’ कोइलाबासको रुपमा। अघिल्लो पुस्ताको बनारस पढ्न जाने बाटो थियो कोइलाबास। नून थलो थियो कोइलाबास। हिजोआज सुनसान छ कोइलाबास। भारतबाट सामान भित्र्याउने र नेपालबाट भारत सामान पठाउने नाका कोइलाबासको योगदान छ।

पूर्व पश्चिम राजमार्ग बनेपछि यो नाका भएर आवतवात गर्ने मान्छेको संख्या घट्न थाल्यो। त्यसपछि व्यापार पनि घट्यो। कोइलाबासमा घर भएकाहरु प्नि बसाइसराइ गरेर अन्यत्र गए। देशमा चलेको सशस्त्र द्वन्द्वले पनि उस्तै समस्या थप्यो। कोइलाबासमा घरबास भएकाहरु अहिले घोराही, तुलसीपुर, लमहीमा छन्।

अहिले पुनः कोइलाबास मुहार फेर्ने र तंग्रिने कोसिसमा छ। पक्की बाटो बन्यो। हरेक दिन कोइलाबास हेर्न पुग्नेको संख्या बढ्दै छ। सामान्य चिया पसल र पान पसल रहेको कोइलाबासमा नयाँ होटल खुलेको छ। यतिमात्रै होइन आँखा उपचारको लागि सेवा थपिएको छ।

पहिले कोइलाबाससम्म पुग्ने मोटर बाटो थिएन। भारतको बाटो भएर नेपाल आउनुपथ्र्याे। अहिले ४०÷४५ मिनेटको यात्रापछि गढवा, लमही सजिलोसँग पुग्न सकिन्छ। कोइलाबासको मुहार पनि पहिले जस्तो छैन। पुराना भग्नावशेषले नयाँ जीवन खोजिरहेका छन्। उस्तै चहलपहल खोजिरहेको छ ‘कोइलाबास’।

६९ करोड बढीको लगानीमा बनेको लमही–कोइलाबास पक्की सडक सञ्चालनमा छ। यो सडक सञ्चालनमा आएपछि कोइलाबासमा पुनर्जीवन पाउने आशा पलाएको छ। सडक सञ्चालनमा आए पनि कोइलाबासको नाका भने सञ्चालनमा आएको छैन। घरायसी सामानबाहेक व्यापारका सामानहरु नेपाल भित्र्याउन सकिएको छैन। भारत सरकारले कोइलाबास नाकामा राजस्व संकलनको लागि कस्टम नराख्दा यो नाका सञ्चालनमा आउन नसकेको हो।

‘नाका बन्द छ। भारतीय सरकारले राख्नुपर्ने कस्टम छैन’, गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सद्भाम सिद्धिकले भने, ‘विनाभन्सार गरेर सामान ल्याउन एसएसबीले दिँदैन। भन्सार कार्यालय र कर्मचारी भारतले राखेको छैन।’

भारतको जरुवामा कस्टम कार्यालय छ। तर, त्यहाँ कर्मचारी छैनन्। २५ हजारभन्दा माथि मूल्य पर्ने सामानको अनिवार्य भन्सार गराउनुपर्ने हुन्छ। तर, भारतीय कस्टमका कर्मचारी बढनीमा बस्ने गरेका छन्। कोइलावास नाकाबाट नेपाल सामान ल्याउन खोजेपछि बढनी पुगेर राजस्व काट्नुपर्ने बाध्यता छ।

‘भारतको कस्टम (भन्सार कार्यालय) छैन। राजस्व नकाटेर सामान ल्यान पाइँदैन’, कोइलावास भन्सार कार्यालयका प्रमुख बसन्त रजौरेले भने, ‘कोइलाबास नाका सुचारु गर्न नेपाल र भारत सरकारबीच छलफल भएर निर्णय भएमा सजिलो हुने थियो।’

विगतमा कोइलाबासमा भारत सरकारको कस्टम थियो। कोइलाबास नाका नचलेपछि कर्मचारी कटौती गरिएको थियो। पछि बढनीबाट कोइलाबासको काम गर्न थालियो। अहिले बाटो बनेपछि भारत पुगेर सामान किन्न चाहने उपभोक्ता तथा व्यापारीको संख्या बढ्दै छ। तर, नाका सुचारु नहुँदा मर्का परेको छ।

अस्थायी पैठारीबाट झण्डै ६ लाख राजस्व

कोइलाबास भन्सार कार्यालयको चालु आर्थिक वर्ष २०७८÷०७९ को राजस्व संकलन लक्ष्य १४ लाख ७८ हजार रहेको छ। नाकाबाट कुनै पनि सामान पैठारी हुन पाएको छैन। व्यवसायी आएका छैनन्। भारतीय सीमा सुरक्षा बल एसएसबीका कारण नाकाबाट सामान निकासी, पैठारीमा समस्या छ। स्वर्गद्वारी दर्शनका लागि कोइलाबास नाकाबाट तीर्थयात्री मोटरसाइकलमा नेपाल भित्रिने गरेका छन्। मोटरसाइकलको अस्थायी पैठारीबाट राजस्व संकलन हुने गरेको छ। हालसम्म ५ लाख ९३ हजार राजस्व संकलन भएको भन्सार कार्यालय कोइलाबासका प्रमुख बसन्त रजौरे जानकारी दिए।

‘लक्ष्यअनुसार राजस्व उठ्ने, नउठ्ने निश्चित छैन’, उनले भने, ‘कोइलाबास नाकालाई सुचारु गराउन व्यवसायीलाई सुविधा दिनुपर्छ। त्यस्तो सुविधा यहाँ छैन।’

कोइलाबास नाकाबाट फलफूल भित्रिँदैन। प्लान्ट क्वारेन्टाइन राखिएको छैन। पशुजन्य व्यापारको लागि पनि पशु क्वारेन्टाइन पनि छैन। विषादी परीक्षणको कार्यालय पनि स्थापना जरुरी छ।

‘सुविधा भयो भने बल्ल व्यवसायी यो नाकाबाट सामान भित्र्याउन चाहन्छन्’, रजौरेले भने, ‘यो नाका दुई देशको बीचमा हुने समझदारी र समन्वयबाट सुचारु गर्न सकिन्छ।’

कोइलाबास नाका खुलाउन सरकारको ध्यान गएन – खगेश्वर खनाल, अध्यक्ष, देउखुरी उद्योग वाणिज्य संघ

कोइलाबास नाकासम्म पुग्ने पक्की सडक बन्यो। मानिसहरु घुम्नको लागि दिनहुँजसो जाने आउने क्रम चलेको छ। तर जुन कोइलाबास नाकाबाट सामान भित्रिनुपर्ने हो त्यो काम हुन सकेको छैन। जिल्लाभित्र भारतबाट सामान आउने गरेको छ। तर, ती नाका टाढा भए। सबैभन्दा छोटो दूरीमा पर्ने कोइलाबास नाका सुचारु हुन सकेन। जसले गर्दा व्यवसाय क्षेत्रमा लागत बढेको छ। उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ।

कोइलाबास नाका खुल्यो भने सामान ढुवानीको लागि सबैभन्दा छोटो पर्ने छ। ढुवानी सस्तो हुनेबित्तिकै सामान पनि सस्तो हुने हो। नाका नखुल्दा कोइलाबास ओझेलमा प¥यो। नाका सुचारु गर्न प्रदेश र केन्द्र सरकारको भूमिका शून्यसरह भयो। पटक–पटक यो कुरा उठाइरहेका छौं। उद्योग वाणिज्य संघले पहल ग¥यो। पहलले मात्रै पुगेन। सरकारले ध्यान दिनुप¥यो। सडक बन्यो, नाका खुलेन। नाका नखुल्दा कोइलाबास बिचल्लीमा छ। हामी पनि बिचल्ली जस्तैमा छौं।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?