
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन्।
बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै पूर्वअध्यक्ष जबराले यस्तो कमल थापा राप्रपामै फर्कने आशा व्यक्त गरेका हुन्।
उनले थापालाई धैर्य गर्न र छलफल गरेरमात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए।
‘यो अनपेक्षित घटना हो। उहाँको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो। तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ। त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ। अपर्झट निर्णय आयो, दुःखलाग्दो कुरा हो’, नेता जबराले भने, ‘तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ। उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ।’