
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा सिंहदरबारमा कुराकानी भएको हो।
उक्त अवसरमा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरोन्नति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरे।
देशका ७५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्याउने सरकारको योजना रहेको बताउँदै उनले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
स्वीस सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम दिने संस्था टीआईटीआईको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजनामार्फत एप्रेन्टिसीप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्या वारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सवलीकरण परियोजनालगायतमा सहयोग गर्दै आएको छ ।
त्यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक र व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिइन्।