काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटवार्ता गरेका छन्। गृहमन्त्री खाँण ओली निवास भक्तपुरकाे बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका हुन्।
बुधबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका ओली भेट्न खाँण बुधबार बिहान ओली निवास पुगेका थिए।
भेटमा गृहमन्त्री खाँणले एमसीसी अनुमोदन गर्न सघाउन र संसदको अवरोध हटाउन आग्रह गरेका थिए। तर एमाले अध्यक्ष ओलीले पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने जवाफ दिएकाे ओलीकाे निजी सचिवालयले जनाएकाे छ।
यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा पनि ओली भेट्न बालकाेट पुगेका थिए। उक्त भेटमा ओलीले देउवालाई दुई दलबीच के कसरी सहकार्य गर्ने हाे साेसम्बन्धी खाका ल्याउन भनेका थिए। साे बारे देउवाले आफ्नाे काेर टीममा छलफलसमेत गरेका थिए।
पछिल्लो समय प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहँदा कांग्रेस र एमालेका नेताबीच पनि छलफल र भेटवार्ता भइरहेकाे छ।

भर्खरै
लोकप्रिय






































































































































































































