
काठमाडौँ – खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्चीकाे पानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसर आइतबार आयोजित कार्यक्रममा मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंवासीलाई उपलब्ध गराउने गरी मेलम्ची खानेपानी आयोजनाको काम तीव्र पारिएको बताएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाडौंवासीलाई उपलब्ध गराउन राष्ट्रको नाममै सम्बोधन गरेको स्मरण गराउँदै उनले काठमाडौमा खानेपानीको व्यवस्थापनमा ढिलाइ नहुने स्पष्ट पारे।
‘मेलम्ची खानेपानी समयावधिभित्रै काठमाडौंवासीलाई खुवाउने उद्देश्यले काम अगाडि बढिराखेको छ’, उनले भने, ‘त्यसलाई पूरा गर्न हामी प्रतिबद्ध छौं भन्ने म आज विश्वास दिलाउन चाहन्छु।’
मन्त्री चौधरीले खानेपानी महसुल निर्धारण आयोग केही दिनभित्रै गठन गर्ने घोषणासमेत गरे। सो आयोगअन्तर्गत रहेर सरकारले आम नागरिकलाई अझै सर्वसुलभ ढंगले खानेपानीको व्यवस्था गर्न लागेको उनको भनाइ छ।
‘शुल्क निधारण आयोग गठन गर्न प्रक्रिया अगाडि बढाइसकेका छौं। केही दिनमा त्यसले पूर्णता पाउनेछ’, मन्त्री चौधरीले भने, ‘तदनुरुप खानेपानी संस्थानमात्रै होइन, केयूकेल र खानेपानी विभागअन्तर्गतका शाखाहरुलाई शुल्क निर्धारण आयोगअन्तर्गत नै सर्वसुलभ बनाउने विषयलाई अगाडि बढाउनेछौं।’
उनले ‘एक घर, एक घारा’ कार्यक्रमको सेवा विस्तार गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए।
सो सेवा हाल देशका २३ वटा सहरमा सञ्चालनमा आएको छ। त्यसलाई देशभर विस्तार गर्न मन्त्री चौधरीले नेपाल खानेपानी संस्थान, खानेपानी विभागलाई निर्देशन दिएका हुन्।