जलवायु अनुकूलन सम्बन्धी आइपिसिसी कार्यगत समूह दोस्रोको प्रतिवेदन

जलवायु परिवर्तनको संकट टार्न विज्ञले दिएका यी उपायहरु

जलवायु परिवर्तनको संकट टार्न विज्ञले दिएका यी उपायहरु
+
-

काठमाडौँ – मानवीय कारणले भएको जलवायु परिवर्तनका कारण बढ्दो मानवीय, जैविक विविधता तथा भौतिक पूर्वाधारमा भइरहेको क्षति न्यूनीकरण वा रोक्नका लागि तत्काल अनुकूलनका उपयुक्त उपायहरु अवलम्बन गर्नुपर्ने नयाँ प्रतिवेदनले सुझाव दिएको छ।

जलवायु परिवर्तनले मानवीय संकटका लागि सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसकारी सरकारी संस्था (आइपिसिसी) ले सोमबार सार्वजनिक गरेको जलवायु परिवर्तन २०२२– प्रभाव, अनुकूलन र जोखिम (क्लाइमेट चेन्ज २०२२– इम्प्याक्ट्स, एडाप्टेशन एण्ड भल्नराबिलिटी) नामक प्रतिवेदनमा विश्वव्यापी रुपमा अनुकूलनका गतिविधि बढाउनुपर्ने उल्लेख गरिएको हो।

आइपिसिसीको छैटौँ एसेसमेन्ट रिर्पोटअन्तर्गत दोस्रो कार्यगत समूहले उपलब्ध वैज्ञानिक प्रमाण तथा तथ्यहरुको विश्लेषण गरी जलवायु परिवर्तनको प्रभाव, अनुकूलन र जोखिमको विश्लेषण गरी सुझावसहितको प्रतिवेदन तयार पारेको हो। एआर सिक्स कार्यगत समूह दुई को प्रतिवेदन तयार पार्नका लागि ६७ देशका २७० जना वैज्ञानिकलाई अरु ६७५ जना वैज्ञानिकले साथ दिएका हुन्।

प्रतिवेदनमा भनिएको छ, ‘बढ्दै गएको क्षति कम गर्न जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम तीव्र बनाउनुका साथै हरितगृह ग्यासको उत्सर्जन द्रूत र ठूलो मात्रामा कटौती गर्नुपर्ने हुन्छ।’

अहिलेसम्म जलवायु परिवर्तन अनुकूलनका लागि भएका प्रयासहरु पर्याप्त नरहेको प्रतिवेदनमा उल्लेख छ। ‘हालसम्मका तथ्यहरु विश्लेषण गर्दा अनुकूलन प्रयासका प्रगति असमान देखिएका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘बढ्दो जोखिमसँग जुध्नका लागि गर्नुपर्ने र हाल गरिएका प्रयासबीचको खाडल बढ्दै गएको छ। यो असमानता न्यून आय भएका देशमा झन् बढी पाइएको छ।’

एआर सिक्स अर्थात आइपिसिसीको छैटौँ एसेसमेन्ट रिपोर्टअन्तर्गत दोस्रो कार्यगत समूहको यो प्रतिवेदन दोस्रो भाग हो । एआर सिक्स यही वर्ष (२०२२) मा पूरा हुनेछ।

जोखिम कम गर्नका लागि प्रयासहरु भइरहँदा पनि विश्वभर मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तनले प्रकृतिमा भयानक र व्यापक क्षति गरेको प्रतिवेदनले जनाएको छ। यसले गर्दा मानव जीवनसँगै पूरा प्रकृतिमाथि नै गम्भीर जोखिम आएको तथा मानव र पारिस्थितिक प्रणालीको जुध्न सक्ने क्षमतामाथि नै प्रहार भएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन्।

आइपिसिसीका अध्यक्ष होसङ्ग लीले भनेका छन्, ‘यो प्रतिवेदन अनुकूलनका सम्बन्धमा विश्वव्यापी निष्क्रियताका सम्बन्धमा गम्भीर चेतावनी हो। प्रतिवेदनले जलवायु परिवर्तन स्वस्थ ब्रह्माण्ड र हाम्रो कल्याणका लागि गम्भीर चुनौती हो। आज हामीले गर्ने प्रयासहरुले बढ्दो जलवायु जोखिमलाई मानिसले कसरी अनुकूलन गर्ने छन् र प्रकृतिले कसरी प्रतिक्रिया दिनेछ भन्ने निर्धारण हुनेछ।’

विश्वव्यापी तापमान वृद्धि १.५ डिग्री सेल्सियसमै सीमित गर्दा पनि आउँदो दुई दशकमा विश्वले ठूलो मात्रामा जलवायुजन्य विपदको सामना गर्नुपर्ने र त्यसलाई टार्न सकिने सम्भावना पनि नरहेको चेतावनी प्रतिवेदनमा दिइएको छ। तापमान थप वृद्धि हुँदा जोखिमको तह पनि बढ्ने उल्लेख छ।

नीति निर्माताका लागि प्रतिवेदनको संक्षिप्त रुपलाई आइपिसिसीका १९५ सदस्य राष्ट्रका प्रतिनिधिको दुई हप्तासम्म अनुमोदन शत्रले अन्तिम रुप दिएको हो। भर्च्युअल रुपमा भएको सो अनुमोदन सत्र फेब्रुअरी १४ मा सुरु भएर २७ मा टुंगिएको हो।

बढ्दो जोखिमसँग जुध्न तत्काल प्रयासको खाँचो

जलवायु परिवर्तनका कारण सघन बन्दै गएको हिटवेभ (तातो हावा), खँडेरी तथा बाढीका कारण वनस्पति तथा जीवजन्तुको सहन क्षमता अहिले नै कमजोर बनेको छ। विशेषगरी रुख प्रजातिका वनस्पति र समुद्री जीवहरु एकैचोटी ठूलो संख्यामा नासिएको भन्दै प्रतिवेदनमा आउँदा दिनमा यो क्रम झन् बढ्न सक्ने उल्लेख छ।

जलवायुजन्य मौसमी विपदहरु लगातार देखिन थालेको र त्यसबाट व्यवस्थापनका लागि कठिन हुने ‘क्यास्केडिङ’ (एकसाथ विभिन्न विपदका घटनाको संयुक्त प्रभाव) प्रभाव पर्न थालेको छ। यसले गर्दा विशेष गरी एसिया, अफ्रिका, मध्य तथा दक्षिण अमेरिका, साना टापु राष्ट्र र आर्टिक क्षेत्रका बासिन्दामा खाद्यान्न तथा पानीको व्यापक अभाव हुने देखिएको प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनले जलवायु, जैविक विविधता र मानवबीचको अन्तरसम्बन्धलाई पुनः संगठित गरेको र प्रकृति, समाज र अर्थतन्त्रबीचको अन्तरक्रियालाई विगतको भन्दा स्पष्ट रुपमा स्थापित गरेको आइपिसिसीका अध्यक्ष लीले बताएका छन्। जलवायुजन्य जोखिम सम्बोधनका लागि तत्काल विगतभन्दा महत्वाकांक्षी प्रतिक्रियाको खाँचो रहेको प्रतिवेदनमा उल्लेख छ। लीले भनेका छन्, ‘अपुरो कदम वा प्रतिक्रियाले अब काम गर्दैन।’

परिवर्तन भइरहेको जलवायुमा अनुकूलनका लागि विभिन्न विकल्पहरु रहेको उल्लेख गर्दै वैज्ञानिकहरुले प्रकृतिसँग जलवायु जोखिम न्यूनीकरण गर्ने र सुधारिएको जीवनको सम्भावना बढाउने क्षमता रहेको बताएका छन्। तर त्यसका लागि जलवायु अनुकूलनका लागि पर्याप्त वित्त र राजनीतिक सहयोग चाहिने आइपिसिसी कार्यगत समूह दुईका उपाध्यक्ष हान्स–ओटो पोर्ट्नरले बताएका छन्।

जोखिम न्यूनीकरणका लागि व्यक्तिगत रुपमा सबै, सरकार, निजी क्षेत्र, नागरिक समाजले मिलेर काम गर्नुपर्ने सुझाव दिइएको छ। यसरी काम गर्दा जोखिम न्यूनीकरणसँगै लगानी तथा निर्णय प्रक्रियामा समता र न्यायको पाटो पनि ख्याल गरिनुपर्ने उल्लेख छ।

योपटक प्रतिवेदनमा विश्वको आधाभन्दा बढी जनसंख्याको बसोबास रहने सहरी क्षेत्रमा रहेको जोखिमलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। सहरी क्षेत्र जलवायुजन्य जोखिम र प्रभावको केन्द्रविन्दु रहेको भन्दै कमजोर व्यवस्थापन रहेका सहरलाई विशेष ध्यान दिइनु पर्ने प्रतिवेदनले सुझाव दिएको छ। अनुकूलनका लागि सहरी क्षेत्रका भवनहरुलाई हरित भवन बनाउन सकिने, स्वच्छ पानी तथा ऊर्जाको आपूर्ति गर्न सकिने तथा स्वच्छ ऊर्जामा आधारित यातायात व्यवस्थापन गर्न सकेमा सहर र गाउँबीचको सम्बन्ध सुमधुर बनाएर जलवायुजन्य जोखिमलाई पनि कम गर्न सकिने उल्लेख छ।

जलवायु परिवर्तन विश्वव्यापी चुनौती भए पनि यससँग जुध्नका लागि स्थानीय तहमा विकल्पहरुको खोजी गरिनुपर्ने वैज्ञानिकको भनाइ छ। सोहीअनुसार प्रतिवेदनमा क्षेत्रगत रुपमा जोखिम र अनुकूलनका लागि भएका प्रयासहरुको विश्लेषण गरी सम्भावित विकल्पहरु प्रस्तुत गरिएको छ।

एसियामा जलवायु परिवर्तनको प्रभाव र जोखिम

प्रतिवेदनमा एसियाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अहिले नै सघन रुपमा देखिन थालेको र आउँदा दिनमा थप बढ्दै जाने उल्लेख छ। नेपालसहित दक्षिण एसिया, पश्चिम तथा मध्य एसियाका सुख्खा तथा अर्ध–सुख्खा क्षेत्रमा खँडेरीको समस्या थप बढ्ने, एसियाभर नै तातो हावा चल्ने र दक्षिण, दक्षिण पूर्वी र पूर्वी एसियामा वर्षायाममा भीषण बाढी आउन सक्ने प्रतिवेदनमा उल्लेख छ। बढ्दो तापक्रमका कारण हिन्दू कुश हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रम तीव्र बनेको र त्यसले अरु विपदलाई थप सहयोग गर्ने चेतावनी दिइएको छ।

हिमनदी फुटेर आउने बाढी (ग्लोफ) का घटनाले एसिया (नेपालसहित) हिमाली भूभागका तल्लो तटीय क्षेत्रका बस्तीहरु जोखिममा आएको उल्लेख छ। मानवीय गतिविधिका कारण सन् २०५० सम्ममा हाल प्रभाव नपरेका हिमाली क्षेत्रमा पनि जलवायुजन्य जोखिम उच्च हुने उल्लेख छ। यो शताब्दीको मध्यसम्ममा पान आर्टिक क्षेत्रका ६९ प्रतिशत आधारभूत पूर्वाधारहरु जोखिममा आउने मध्यम विश्वासका साथ प्रतिवेदनमा चेतावनी दिइएको छ।

एसियाली क्षेत्रमा आउँदा दिनमा पानीको अभाव थप बढ्दै जाने उच्च विश्वासका साथ प्रतिवेदनले चेतावनी दिएको छ।

एसियाका केही क्षेत्रमा जीवजन्तुको बासस्थान नासिनु र वनस्पतिहरु विलय हुनुमा जलवायु परिवर्तन कारक रहेको उच्च विश्वासका साथ भन्न सकिने अवस्था रहेको प्रतिवेदनमा जनाइएको छ। भविष्यमा एसियाली क्षेत्रमा जलवायु परिवर्तनकै कारण ठूलो मात्रामा जैविक विविधता तथा बासस्थानको नास हुने चेतावनी छ।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र चुनौतीहरु सामना गर्न अहिले पनि अनुकूलनका प्रयासहरु भइरहेको छ तर त्यसको प्रभावकारिता क्षेत्र, प्रतिबद्धता र स्रोतका आधारमा फरक रहेको उल्लेख छ। आइपिसिसीले अनुकूलनका प्रयासहरुलाई थप प्रभावकारी बनाउनका लागि उपलब्ध वैज्ञानिक ज्ञानको प्रयोग गर्ने र पर्याप्त स्रोतको व्यवस्था गरिनु पर्ने सुझाव दिएको छ।

यो पनि पढ्नुहोस्

जलवायु परिवर्तनको प्रभाव सगरमाथामा चिन्ताजनक, २ हजार वर्षमा जम्मा भएको हिउँ २५ वर्षमा पग्लियो

जलवायु परिवर्तनको प्रभाव सगरमाथामा चिन्ताजनक, २ हजार वर्षमा जम्मा भएको हिउँ २५ वर्षमा पग्लियो

जलवायु परिवर्तन धनी देशको मात्र मुद्दा होइन

जलवायु परिवर्तन धनी देशको मात्र मुद्दा होइन

खेतमा नदी, रित्तो भकारी

खेतमा नदी, रित्तो भकारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?