
दाङ– पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ केही पर सुन्दर ताल छ। जहाँ अहिले पानी छचल्किने गरी भरिएको छ जखेरा ताल। डुंगामा रमाउने उस्तै छन्। डुंगामा चढेकाहरुलाई फेवाताल झैं मन्दिर घुमाएर फर्काइन्छ।
हरेक वर्ष शिवरात्रीको दिन जखेरा तालमा मेला लाग्ने गर्छ। यसपाली लागेको मेला छैठौं हो। मेला लाग्न थालेपछि जखेरा आउने पर्यटकको संख्यामा बृद्धि भएको जखेरा शिवालय तथा धार्मिक पर्यटकीय संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले बताए।
‘पाँच वर्षअघि देखेको जखेरा र अहिले देखिने जखेरामा धेरै फरक छ। आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न सक्ने पूर्वाधार जोडेका छौँ,’ उनले भने,‘जखेराले सबैलाई लोभ्याउँछ।’
जखेराको इतिहास निकै पुरानो छ। थारु बाहुल्य क्षेत्रमा पानी जमेको ठाउँलाई जखेरा भन्ने चलन छ। त्यही पानी जमेको ठाउँ अहिले जखेरा तालममा परिवर्तन भएको छ। तालको क्षेत्र थपिँदै लगिएको छ। पर्यटकलाई आकर्षित गर्न तालमा डुंगा चलाइन्छ। तालको बीचमा मन्दिर छ। त्यो मन्दिरमा पुग्न डुंगा चढ्नु पर्ने भएपछि फेवातालको महशुस हुने जखेरा घुम्न आएका प्रकाश खनालले बताए।
‘धेरै तालमा पुगियो। जखेराजस्तो रमणीय अन्यत्र लागेन। चुरे पहाडको फेदिमा भएकाले पनि यो तालको रौनक बेग्लै छ,’ उनले भने, ‘अझ डुंगा चढ्न पाउँदा खुसी लाग्छ।’
ताल वरपरको वातावरणलाई रमणीय बनाउने काम भएको छ। यसअघि खुल्ला र अस्तव्यस्तजस्तो देखिने स्थानमा पार्क बनाइएको छ। फुलहरु रोपिएका छन्। पार्कभित्र पदमार्ग बनाइएको छ।
शिवरात्रीमा लाग्ने मेलाले झनै रौनकता थप्दै लगेको छ। विगत दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण लाग्न नपाएको जखेरा मेला यसपाली भने दर्शकको भीड थामिनसक्नु छ। कलाकारहरुको प्रस्तुति हेर्न र ताल क्षेत्रमा रमाउन पर्यटक आउने गर्छन्।
शिवालयमा दर्शन गर्न पनि टाढा–टाढा श्रद्धालु भक्तजन आउने गरेको संरक्षण प्रतिष्ठानका सदस्य केशवराज पोख्रेलले बताए। ‘मन्दिरले गर्दा पनि पर्यटक बढेको महशुस गरेका छौँ,’ उनले भने, ‘ताल क्षेत्र व्यवस्थित हुँदै जाँदा पर्यटक आवागमन पनि बढ्यो।’
स्थानीय, प्रदेश तथा केन्द्र सरकारले जखेरा तालमा बजेट उपलब्ध गराउँदै आएका छन्। ताल क्षेत्र फराकिलो बनाउन, पूर्वाधार बनाउन अनी डुंगा सञ्चालनको लागि सरकारले पनि लगानी लगाएको छ।
आन्तरिक आयस्रोतबाट पार्क क्षेत्रमा वनभोज स्थललाई व्यवस्थित गर्ने काम भएको छ। पार्कभित्र पदमार्ग समेत बनाइएको छ। भावी योजनाको रुपमा चुरे पहाडमा पदमार्ग बनाउने छ। जखेरा घुम्न पुग्ने पर्यटक एकपटक चुरे पहाडबाट देउखुरी नियाल्न पाउनेगरी काम गरिने भएको छ।