
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नरपालिका–१२ खहरे केराबारीछापमा शुक्रबार बिहानै जेसीबी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार केराबारीछापस्थित निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा २ क ६६१८ नम्बरको जेसीबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खस्न जाँदा सहचालक महोत्तरीको बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको घटनास्थल मै मृत्यु भएको हो।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घटनामा जेसीबीका चालक बाँकेको राप्तीसोनारी गाउँपालिका ४ बस्ने २२ वर्षीय प्रकाश चौधरी भने सकुशल रहेको जानकारी दिए।
चालक चौधरीलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।