
काठमाडौँ – काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले ललितपुरको धोबीघाटका दुईमध्ये एउटा फोहोरपानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।
उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरण जडान गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको केयूकेएलले जनाएको हो। केन्द्रले आगामी साउनभित्र फोहोरपानी प्रशोधन परीक्षण सुरु गर्ने लक्ष्य राखिएको छ।
धोवीघाटमा दुइटा केन्द्र रहेका छन्। जसको क्षमता प्रतिकेन्द्र प्रतिदिन ३ करोड ७० लाख लिटर फोहरपानी प्रशोधन गर्ने रहेको छ।
यसैगरी कोड्कु (बालकुमारी) मा निर्माणाधीन केन्द्रको क्षमता प्रतिदिन १ करोड ७५ लाख लिटर फोहारपानी प्रशोधन गर्ने रहेको पीआईडीले जनाएको छ।
भक्तपुरको सल्लाघारीमा पनि प्रतिदिन १ करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन क्षमता भएको केन्द्रको निर्माण कार्य भइरहेको छ।
यसअघि गुहेश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्र निर्माण पूरा भई हाल सञ्चालनमा आइसकेको पीआईडीले बताएको छ। पीआईडीका अनुसार डिजाइन, निर्माण र संचालनको अवधारणाअन्तर्गत निर्माण सम्पन्न भएको र निर्माणाधीन केन्द्रहरूको कूल क्षमता प्रतिदिन १० करोड ५७ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने रहेको छ।
जसअनुसार गुहेश्वरी केन्द्रबाट दैनिक ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ। सल्लाघारी केन्द्रबाट दैनिक १ करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन गरी हनुमन्ते नदीमा, कोड्कु (बालकुमारी) केन्द्रबाट १ करोड ७५ लाख लिटर फोहारपानी प्रशोधन गरी मनोहरा नदीमा र धोबीघाट केन्द्रबाट दैनिक ७ करोड ४० लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह गरिनेछ।
यस्तै गोकर्णमा ३० लाख लिटर क्षमता र हनुमानघाटमा १० लाख लिटर क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
केयूकेएलका अनुसार काठमाडौँ उपत्यकाका घरपरिवारबाट खानेपानीको उपभोगपछि झण्डै ८० प्रतिशत पानी फोहोरपानीका रूपमा उत्सर्जन भई नदी तथा खोलामा मिसिन जाने गरेको छ। यी फोहरपानी नदी तथा खोलाको मुहानदेखि नै फोहारपानी मिसिन नदिई नदी तथा खोलाहरूमा स्वच्छ एवम् सफापानीको बहावलाई निरन्तरता दिनका लागि ठूला तथा साना क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण अगाडि बढाइएको छ।
काठमाडौं उपत्यकाका घरघरबाट निस्कने फोहोरपानी नजिकैका फोहोरपानी प्रशोधन केन्द्रहरूमा पुर्याउनका लागि पीआईडीबाट हनुमन्ते र मनोहरासमेतका नदी तथा खोलाका दुवैतर्फका किनारहरूमा करिव ३० किलोमिटर ढल प्रणाली निर्माण गरिएको छ।
आगामी सन् २०३० सम्ममा काठमाडौँ उपत्यकामा वृद्धि हुने जनसंख्या र बढ्दो खानेपानीको मागका आधारमा प्रतिदिन करिव ४९ करोड लिटर फोहोरपानी उत्सर्जन हुने अनुमान गरिएको छ। हाल काठमाडौँ उपत्यकामा दैनिक करिब २३ करोड लिटर फोहोरपानी उत्सर्जन हुने गरेको केयूकेएलले जनाएको छ।