
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक सल्लाहकारले आफ्नो देशको आर्मीले जारी युद्धमा अप्रत्यासित वा भाग्यका कारण सफल नभएको बताएका छन् ।
राष्ट्रपतिका सल्लाहकार एलेक्सी एरिस्तोविकले सामाजिक सञ्जालमा लामो वक्तव्य साझा गर्दै विशेष ख्याल गरेर तयार पारिएको योजना अनुसार सामना गरेकाले आफूहरुले सफलता पाइरहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘हाम्रो जित प्रणाली हो, विशेष रुपमा तयार पारिएको र स्पष्ट रुपमा कार्यान्वयन गरिएको कारण र प्रभावको सम्बन्धमा आधारित भएर अघि बढिएकाले सफल भएका हौँ ।’
सुरक्षा दस्ताको प्रतिरक्षा तथा सर्वसाधारण नागरिकको साथले रुसी युद्ध मेसिनलाई आफूहरुले पिस्दै गएको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘रुसी आर्मी बलियो छैन, मात्रै ठूलो हो ।’
विदेशी सुरक्षा अधिकारीहरु रुसको आक्रमणविरुद्ध युक्रेनले गरिरहेको प्रतिरक्षालाई लिएर आश्चर्यमा आएका छन् । जेलेन्स्कीका सल्लाहकारले त्यसलाई सम्बोधन गरेर आफूहरुले भाग्यका कारण राम्रो गरेको भन्ने भनाइको खण्डन गरेका हुन् ।
रुसले गरेको पूर्ण आकारको आक्रमणको तयारी निकै कम स्रोत र समयमा आफूहरुले गरेको पनि उनले उल्लेख गरेका छन् ।
उनले वाचा गरेका छन्, ‘पुटिनका ८० प्रतिशत आर्मी यहाँ (युक्रेन) छन् । हामीले उनीहरुलाई यहिँ गाड्ने छौँ ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरिरहेका छन्। रुसले युक्रेनका प्रमुख शहरलाई निशाना बनाइरहेको छ । विश्वभरबाट विरोध भए पनि पुटिन पछि हटेका छैनन् ।